अन्तर्राष्ट्रिय

टर्कीका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार पक्राउ

अङ्कारा (टर्की) । टर्कीका प्रधानमन्त्री बिनाली इन्दिरिमका प्रमुख सल्लाहकारलाई स्वघोषित निर्वासमा रहनुभएका धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा शनिबार सुरक्षा नियन्त्रणमा लिइएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारका रुपमा काम गरिरहेका बिरोल एर्देमले धर्मगुरु गुलेनद्वारा टर्कीमा चलाएको आन्दोलनमा संलग्नता रहेको आरोप लगाइएको छ ।

न्याय मन्त्रालयका पूर्व उपसचिवसमेत रहेर काम गरेका एर्देम र उनीसँगै पत्राउ परेकी उनकी पत्नी गुलुमसेर एर्देमलाई अङ्कराको अभियोजको कार्यालयका प्रमुखद्वारा अनुसन्धान गर्ने तयारी भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

धर्मगुरु गुलेन र उनका अनुयायीमाथि टर्की सरकारले सन् २०१६ को असफल ‘कु’ प्रयासको योजना कारक रुपमा आरोप लगाउँदै आएको छ । उक्त घटनामा दोहोरो झडपमा २४९ जना मारिएका थिए भने दुई हजार २०० नागरिक घाइते भएका थिए ।