१६ असार, काठमाडौं । रूसले सोमबार युक्रेनका विभिन्न सहरमा मिसाइल र ड्रोन आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यी आक्रमणलाई भयानक भन्दै कडा शब्दमा निन्दा गरेका छन् । रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्ष भइसकेको छ ।
संयुक्त राष्ट्रसंघ (यूएन)का अनुसार युद्ध सुरु भएयता हालसम्म १६ हजारभन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भइसकेको छ । रूसले निरन्तर युक्रेनका ऊर्जा तथा अन्य आधारभूत संरचनामाथि आक्रमण गर्दै नागरिकहरूको मनोबल कमजोर पार्ने प्रयास गरिरहेको छ ।
रूसी मिसाइल आक्रमणमा नीप्रो सहरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । जापोरिज्जियामा रूसी ड्रोन एउटा यात्रुवाहक बसमा ठोक्किँदा एक बालकसहित तीनजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
सुमी सहरमा ड्रोन आक्रमणमा एक वृद्ध महिला र एक पुरुषको मृत्यु भएको छ ।यसैगरी, खार्किभमा दिउँसो भएको आक्रमणमा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
यसका अतिरिक्त युक्रेनका अन्य ६ क्षेत्रमा पनि आक्रमण भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।





