५ साउन, काठमाडौं । अमेरिकी कार, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले असमान व्यवहार गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने अधिकांश वस्तुमा ५० प्रतिशत ट्यारिफ लगाएका छन् ।
यी नयाँ महसुलहरू आगामी ३० दिनभित्र लागु हुनेछ । यसले उत्तर अमेरिकी दुई छिमेकी राष्ट्रबीचको व्यापारिक तनावलाई थप तीव्र बनाउने बीबीसीले जनाएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले प्रतिक्रिया दिँदै आगामी हप्ताहरूमा अमेरिकासँगको व्यापार वार्तालाई अझ तीव्र रूपमा अघि बढाउन क्यानडा तयार रहेको बताएका छन् ।
नयाँ महसुलको दायरामा वाइन, हक्की स्टिकजस्ता दैनिक उपभोग्य वस्तुदेखि व्यावसायिक सिमेन्टजस्ता औद्योगिक सामग्रीसम्म परेका छन् । ऊर्जा, पोटास, अत्यावश्यक खनिज पदार्थ र माछाजस्ता प्रमुख निर्यातजन्य वस्तुहरूलाई भने यो महसुलबाट छुट दिइएको बताइएको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोबीच रहेको विद्यमान मुक्त व्यापार सम्झौताअन्तर्गत पर्ने वा नपर्ने भन्ने कुराको पर्वाह नगरी तोकिएका सबै वस्तुहरूमा नयाँ महसुल लागु हुने बताइएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा भनेका छन्, “क्यानडा–अमेरिका–मेक्सिको सम्झौताको प्रत्यक्ष उल्लंघन गर्दै अमेरिकाले एकपक्षीय व्यापारिक कदमहरूको शृंखला अघि बढाएको छ । यो त्यसकै पछिल्लो उदाहरण हो ।”
सोमबार घोषणा गरिएका यी आयात शुल्कहरूले दुई देशबीच पहिलेदेखि नै कायम व्यापारिक अवरोधलाई अझ बढाएको छ ।
अमेरिकाले क्यानडाबाट आयात हुने स्टिल, आलमुनियम र तामामा पहिलेदेखि नै १५ देखि ५० प्रतिशतसम्म ट्यारिफ लगाउँदै आएको छ । यसबाहेक क्यानडाली सफ्टवुड काठमा ३५ प्रतिशत तथा कारका गैर–अमेरिकी पार्टपुर्जाहरूमा २५ प्रतिशत आयात कर कायम छ ।
क्यानडाले पनि अमेरिकी स्टिल, आलमुनियम तथा केही सवारीसाधनको आयातमा २५ प्रतिशत जवाफी ट्यारिफ लगाउँदै आएको छ ।
सोमबारको यो निर्णय क्यानडाबाट फैलिएको डढेलोको धुवाँ अमेरिकी सहरहरूमा पुगेको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले ट्यारिफ लगाउने चेतावनी दिएपछि आएको हो ।
यद्यपि, ट्रम्पले सोमबार हस्ताक्षर गरेको कार्यकारी आदेशमा डढेलो वा त्यससँग सम्बन्धित कुनै विषयको उल्लेख गरिएको छैन । बीबीसी





