पु.समाचार

काँग्रेस सात, माओवादी केन्द्र १२ र एमाले एक वडामा विजयी

रोल्पा । रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक गरिएको छ । मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा (माओवादी)ले अग्रता लिएको छ भने नेपाली काँग्रेसले माओवादी केन्द्रलाई पछ्याउँदै गएको छ । यसैगरी नेकपा (एमाले) तेस्रो स्थानमा देखिएको छ ।

परिणाम घोषित वडामध्ये नेकाले सातवटा वडा र नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ । नेकपा एमाले भने अहिलेसम्म एक वडामा मात्र सीमित रहेको छ । जसअनुसार नेकाले सुकीदह गाउँपालिका–१, रुन्टी गढी गाउँपालिका–२, ३ र ४, सुवर्णावती गाउँपालिका–१, लुङ्ग्री गाउँपालिका–१ र रोल्पा नगरपालिका–१० मा विजय हासिल गरेका छ ।

रोल्पा नगरपालिका–१० मा दुई मत हराएको भन्दै नेकपा (माओवादी केन्द्र)ले पुनः मतदानको माग गरेको कारण परिणाम घोषणा गरिएको छैन । सो वडामा नेकाका उम्मेदवार मानबहादुर खत्रीले ७०८ मत प्राप्त गरेका छन् भने नेकपा ९माओवादी केन्द्र०का मतिलाल डाँगीले ६२२ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) विजयी भएका वडामा थवाङ गाउँपालिका–४ र ५, दुईखोली गाउँपालिका–१ र २, माडी गाउँपालिका–१ र २, रुन्टीगढी गाउँपालिका–१, सुकीदह गाउँपालिका–२, सुनछहरी गाउँपालिका–१, रोल्पा नगरपालिका–१, त्रिवेणी गाउँपालिका–१ र लुङ्ग्री गाउँपालिका–७ रहेका छन् । नेकपा (एमाले)ले त्रिवेणी गाउँपालिका–२ मा विजय हासिल गरेको छ । परिणाम घोषणा गरिएका सम्पूर्ण वडामा एकल प्यानल विजयी भएको बताइएको छ ।

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच नै तीव्र प्रतिस्पर्धा रहेको छ । नेकपा (एमाले) जिल्लामा तेस्रो स्थानमा देखिएको छ ।

हाल सुवर्णावती, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा नेका अगाडि छ भने रोल्पा नगरपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, दुईखोली गाउँपालिका र माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ ।

नेकपा एमालेले सुकीदह गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता लिएको छ । थवाङ गाउँपालिकामा नेका र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका थिए भने माडी गाउँपालिकामा नेका र नेकपा (एमाले)ले तालमेल गरेको भएपनि दुवै गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको बताइएको छ । रासस