अन्तर्राष्ट्रिय

झण्डै पाँचलाख विस्तापित सिरियाली घर फर्केः राष्ट्रसङ्घ

जेनेभा (स्वीट्जरल्याड), १६ असार । सन् २०११ पछि सिरियामा जारी द्वन्द्वका कारण विस्तापित बनेकामध्ये झण्डै पाँच लाख सिरियाली जनता सन् २०१७ को शुरु देखि हालसम्म घर फर्केका संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने नियोगले शुक्रबार जनाएको छ ।

उनीहरू घर फर्किनुको अर्थ सिरिया पूर्णतया सुरक्षित भएको कारणले भन्दा द्वन्द्वमा छुटेका आफ्ना परिवारका सदस्य र सम्पत्ति खोजी गर्न पुगेका पाइएको पनि बताइएको छ । उनीहरूले घर फर्की आफ्नो घर र सम्पत्तीको रेखदेख पछि केही पुनः शरणार्थी शिवरिमा फर्किने गरेपनि केहीले भने पुनः घरगाउ नछोडेका पाइएको बताइएको छ ।

राष्ट्रसङ्घीय उक्त नियोगले पछिल्ला केही महिना यता स्वदेश तथा विदेशमा बसोबास गर्दै आएका जनता घर फर्की आफ्ना परिवार र सम्पत्तीको हेरचाह गरेको भेटिएको बताएको छ ।

जनवरीपछि चार लाख ४० हजार विस्तापित सिरियाली अलेप्पो, हामा, होम्स र दमास्कस क्षेत्रमा फर्केको यूएनएचसीआरका प्रवक्ता आन्द्रेज महेसिकले जेनेभामा भेला भएका सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

सो अवधिमा करिब ३१ हजार शरणार्थी छिमेकी देशबाट स्वदेश आएका छन् । यससँगै सन् विदेश पलायन भएका करिब दुई लाख ६० हजार सिरियालीको सन् २०१५ पछि स्वदेश आगमन भएको उहाँले बताए ।

उहाँले विदेशमा रहेका सिरियाली स्वदेश फर्कने वातावरण हुनु र फर्कन चाहनुले सकारात्मक सन्देश दिएको भएपनि लाखौैं जनता विस्तापित भएको सिरियामा फर्कनेको सङ्ख्या नगन्य मात्र भएको बताए ।

उहाँले सिरियामा हिंसात्मक गतिविधिमा कमी आएका कारण घर छोडी शरणार्थी बनेका जनता स्वदेश वा घर फर्किन थालेका भनिहाल्नु नहुने बताउनुभयो ।

सिरियामा गत छ बर्षको अवधिमा तीनलाख २० हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने आधा जनसङ्ख्या आन्तरिक वा बाह्यरूपमा विस्तापित बनेका संयुक्त राष्ट्रसङ्घको आँकडा रहेको छ ।

तर सिरियास्थित राष्ट्रसङ्घका विषेश प्रतिनिधि स्टेफेन दे मिस्टुराले यसै हप्ता सुरक्षा परिषद्मा मे ४ मा भएको शान्तिवार्तापछि हिंसा प्रष्ट महशुस गर्न सकिने गरी घटेको बताउनुभएको थियो ।