राजनीति

राप्ती सोनारी गाउँपालिकामा काँग्रेस विजय

कोहलपुर । जिल्लाको विकट क्षेत्र राप्ती सोनारी गाउँपालिकामा नेपाली काँग्रेसले जितेको छ । नेकाका उम्मेदवार लाहुराम थारूले आठ हजार २३६ मत प्राप्त गरी गाउँपालिकाको प्रमुख पदमा विजयी हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसी थारूले ६ हजार ९०० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा पनि नेकाले नै जित हात पारेको छ । काँग्रेसकी धनीकुमारी खत्रीले आठ हजार २०३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेकै चमेली बाकवेलीले ६ हजार ९२४ मत प्राप्त गरेकी छन् ।

नौवटा वडा रहेको राप्ती सोनारीमा पाँचवटा वडामा नेकाले जितेको छ । काँग्रेसले वडा नं १, ३ ,४, ८ र ९ मा वडाध्यक्षसहित पूरै प्यानल जितेको छ । नेकपा माओवादी केन्द्रले तीनवटा वडा नं ५, ६ र ७ मा जितेको छ ।

नेकपा एमालेले २ नं वडा जितेको राप्ती सोनारी गाउँपालिकाका निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए ।