समाचार

प्रधानमन्त्रीले अहिलेसम्म किन निजी सचिवालय गठन गर्न सकेनन् ? यस्तो रहेछ भित्री कारण !

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिनाभन्दा बढी समय भैसकेको छ । देउवा जेठ २३ गते संसदमा झण्डै दुई तिहाई मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिएलगत्तै प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाको नेतृत्वमा दोश्रो चरणको स्थानीय तहको निर्वाचन समेत सम्पन्न भैसकेको छ । तर उनै प्रधानमन्त्री देउवाले भने यतिका दिन वितिसक्दा समेत प्रधानमन्त्रीको निजी सचिवालय गठन गर्न सकेका छैनन् ।

वास्तवमा आफ्नो निजी सचिवालयमा कर्मचारी नियुक्त गर्न प्रधानमन्त्री देउवाले किन हतारो गरेनन् ? प्रायः अघिल्ला प्रधानमन्त्रीहरुले आफु प्रधानमन्त्री भएलगत्तै आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि तत्काल सचिवालयको टिम निर्माण गर्ने चलन छ, तर प्रधानमन्त्री देउवाले भने यसमा चासो दिइरहेका छैनन् ।

श्रोतका अनुसार प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसभित्र देखिएको आन्तारिक खिचतानीका कारण सचिवालयलाई पूर्णता दिन नसकेको बताइएको छ । पार्टीभित्रबाट कुन नेताका कार्यकर्ताहरुलाई सचिवालयमा भर्ती गर्ने भन्ने विषयमै किचलो देखिएपछि प्रधानमन्त्रीको सचिवालयले पूर्णता पाउन नसकेको हो ।

प्रधानमन्त्रीको सचिवालयमा एक दर्जनभन्दा बढी पार्टी कार्यकर्ताहरुलाई नियुक्ति दिन सकिन्छ । त्यसका लागि पार्टीबाट थुप्रैको नाम गएको बताइन्छ । पार्टीबाट क–कसलाई सचिवालयमा नियुक्ति गर्ने भन्ने विषयमा देउवाले केही नेताहरुसँग छलफल गरेको बताइए पनि विशेषगरी यसमा प्रधानमन्त्री पत्नी आरजु देउवाले समेत कार्यकर्ताहरु छान्ने गरेको श्रोतको दाबी छ ।

प्रधानमन्त्री पत्नी आरजुसँग गाढा सम्पर्क हुने नेता–कार्यकर्ताहरुनै सचिवालयमा नियुक्त हुने प्रवल सम्भावना रहेको श्रोतको भनाई छ ।

सभापति देउवा प्रधानमन्त्री भएको यतिका दिन वितिसक्दा समेत सचिवालय गठन गर्न किन ढिला भएको हो र ? भन्ने प्रश्न हामीले देउवाका स्वकीय सचिव भानु देउवासँग सोधेका थियो । स्वकीय सचिव देउवाले भने चुनाव र अन्य केही आन्तरिक कारणले गर्दा सचिवालय गठन गर्न नसकिएको जानकारी दिए ।

उनले अहिलेसम्म ढिला भएपनि अबका केही दिनभित्र प्रधानमन्त्रीको सचिवालय निर्माण भैसक्ने बताए । उनले भने,‘मंगलबार र बुधबारसम्म सचिवालय गठन भैसक्छ, प्रधानमन्त्री दोश्रो चरणको चुनाव र अन्य केही काममा व्यस्त हुनु भएकोले त्यसको काम हुन नसकेको हो ।’