समाचार

प्रहरीको वर्दी छाडेपछि किन रोजे गणेश कार्कीले अपराधको बाटो ?

१७ जेठ, काठमाडौं । कहिल्यै प्रहरीको वर्दी लगाएर कानून कार्यान्वयनको जिम्मेवारी सम्हालेका गणेश कार्की पछिल्लो समय भने उपत्यकामा आतंक मच्चाउने फरार अभियुक्तका रूपमा परिचित बने। प्रहरी सेवाबाट बाहिरिएपछि उनको जीवन अपराधको चक्रमा फस्यो र अन्ततः उनी कर्तव्य ज्यानदेखि डाँकाचोरीसम्मका गम्भीर अभियोगमा दोषी ठहरिए।

काठमाडौंको जडीबुटी क्षेत्रबाट गएराति प्रहरीको गोली लागेर पक्राउ परेका ४० वर्षीय कार्कीको आपराधिक इतिहास लामो र जटिल रहेको प्रहरी अनुसन्धानले देखाएको छ। बूढानीलकण्ठ–३, चपली भद्रकालीका स्थायी बासिन्दा कार्की २०६१ सालमा प्रहरी जवानमा भर्ना भएका थिए। तर तीन वर्षमै, २०६४ सालमा उनले सेवा छाडे ।

प्रहरी अभिलेखअनुसार सेवा छाडेको वर्षदेखि नै उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न हुन थालेका थिए। अभद्र व्यवहार र हातहतियार सम्बन्धी मुद्दाबाट सुरु भएको उनको आपराधिक यात्रा पछि कर्तव्य ज्यानजस्तो गम्भीर अपराधसम्म पुग्यो। सोही मुद्दामा दोषी ठहर भएपछि उनले झण्डै एक दशक कैद सजाय भोगेका थिए ।

जेलबाट छुटेपछि पनि उनको गतिविधिमा सुधार आएन। चोरी र डाँकाचोरीका घटनामा पुनः पक्राउ परेका कार्कीलाई २०७९ सालमा डाँकाचोरी मुद्दामा ६ वर्षको सजाय सुनाइयो र केन्द्रीय कारागार पठाइयो। तर २०८२ साल भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भए ।

फरार जीवन बिताइरहेका कार्कीले आफूलाई प्रहरी भन्दै सर्वसाधारणलाई धम्क्याउने, विदेश जाने यात्रु र लागुऔषध प्रयोगकर्तालाई लक्षित गरी लुटपाट गर्ने तथा विभिन्न क्षेत्रमा चोरीका घटना गराउने गरेको प्रहरीको दाबी छ । गौशाला, पिङ्लास्थान, तिलगंगा, पशुपति, जोरपाटी र विमानस्थल आसपासका क्षेत्रमा उनले नक्कली प्रहरीको परिचय प्रयोग गरी अपराध गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार पक्राउबाट बच्न उनले यसअघि सादा पोशाकका प्रहरीमाथि खुर्सानी र धुलो छर्केर समेत भाग्न सफल भएका थिए। विभिन्न घटनामा संलग्न रहेको आशंकामा उनको खोजी तीव्र बनाइएको थियो ।

अन्ततः शनिबार राति जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँगको मुठभेडमा उनको बायाँ खुट्टामा गोली लागेको थियो । घाइते कार्कीलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीको वर्दीबाट सुरु भएको गणेश कार्कीको जीवन यात्रा अपराध, कारागार र फरारीको चक्रमा घुम्दै अन्ततः फेरि प्रहरी नियन्त्रणमा पुगेको छ । अहिले उनीमाथि विगतका घटनासहित थप आपराधिक गतिविधिबारे अनुसन्धान अघि बढाइएको छ ।