खेलकुद

भारतीय क्रिकेटमा एक्कासि विवाद चुलियो !

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर रवि शास्त्री मुख्य प्रशिक्षकमा नियुक्त भएपछि निकै विवादहरु बाहिर आउन थालेको छ ।
सचिन तेन्दुलकर, सौरभ गागुंली साथै बिबिएस लक्ष्मण सम्मिलित सल्लाहकार समितिले शास्त्रीलाई सन् २०१९ को विश्वकपसम्म भारतीय टिमका मुख्य प्रशिक्षकको जिम्मा दिएको हो ।

यसका साथै जाहिर खान बलिङ र राहुल द्रविड ब्याटिङ प्रशिक्षकमा रुपमा व्यवस्था गरिएको थियो । शास्त्री भने आफू अनुकुलका मान्छे नभएको भन्दै असन्तुष्ट देखिएका छन् । शास्त्री विशेष गरी जाहिर खानको स्थानमा भारत अरुणलाई राख्न चाहन्छन् ।

जसका कारण विवाद चुलिएको छ । च्याम्पियन्स ट्रफिमा हारेपछि प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएपछि नयाँ प्रशिक्षकबारे बहस सुरु भएको थियो ।

मंगलबार राति रवि शास्त्रीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो । उनीसँगै पाँचजना प्रशिक्षकको लागि छनौटमा समावेश थिए । जसमा विरेन्द्र सेहवाग, टम मुड्डी, रिचार्ड पेयवस र लालचन्द राजपुत रहेका थिए ।

५५ वर्षका शास्त्रीले भारतबाट ८० टेष्ट र १ सय ५० एक दिवसीय खेलेका छन् । उनले टेष्टमा ३ हजार ८ सय ३० रन हानेका छन् । १ सय ५१ विकेट लिएका छन् । यस्तै एक दिवसीयमा ३ हजार १ सय ८ रन बनाउनुका साथै १ सय २९ विकेट लिएका छन् ।

उनी सन् २०१४ देखि १६ सम्म भारतीय टिमका डाइरेक्टरका रुपमा समेत रहेका थिए । विशेष गरी उनी सन् १९९५ देखि क्रिकेट कमेन्टेटरका रुपमा चिनिएका थिए । उनको भारतीय टिमका कप्तान विराट कोहलीसँग भने राम्रो सम्बन्ध रहेका कारण प्रशिक्षणमा सहज हुने क्रिकेट विश्लेषकहरुको अनुमान छ ।