राजनीति

संविधान निर्माणमा ऐतिहासिक उपलब्धि :-नेपाली कांग्रेस

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राखे ।

असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्रेस लागेको प्रसंग उल्लेख गर्दै उनले पहाडलाई पन्छाएर मधेश र मधेशलाई पन्छाएर पहाड होइन कि सबैको धर्म, संस्कृति र अधिकारलाई सम्मान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

डा गोविन्द केसीको मागको सन्दर्भमा उनले राज्यले व्यक्तिसँग जे जस्तो सम्झौता गरेपनि त्यस सम्झौतालाई पूरा नगर्नु दुर्भाग्यपूर्ण भएको धारणा प्रकट गरे । उनले आफु गुट उपगुटको विरोधी रहेको र पार्टीभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याए ।