१८ असार,काठमाडौँ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए। बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो।
त्यसअघि बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि छलफल भइ निणयार्थ प्रस्तुत गरिएको थियो। संशोधनहरुमाथि भएको छलफलका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताए।
उनले सम्पत्ति शुद्धीकरण मात्र नभई आर्थिक अपराधविरुद्ध अख्तियारजस्तै शक्तिशाली ‘आर्थिक अपराध प्राधिकरण’ बनाउने विषयमा समेत छलफल गर्ने तयारी भइरहेको बताए।
एउटै स्रोतबाट सिर्जना भएको विषयमा भिन्नभिन्न निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ्ने, अदालती प्रणालीमा बोझ थपिने र बिगो असुलीमा समेत समस्या पर्ने हुनाले कानुनमा आवश्यक सुधार गर्न खोजिएको उनले बताए।





