सूचना प्रविधि

टेलिकमले ल्यायो यस्तो प्रोमोसनल अफर

काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल÷एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । यो अफर सोमबारदेखि देखि लागू हुनेछ र ९० दिनसम्म उपलब्ध गराइने छ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक रु. १०००।– मा उपलब्ध हुनेछ । पहिले मासिक १०१७।– मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि रु. १९८०।– शुल्क लिइएकोमा अब १५ जीबी डाटा रु. ३००।– मै उपलब्ध हुनेछ । त्यसैगरी २५ जीबी डाटाको रु. ५००।– र ४० जीबीको डाटाको मूल्य रु. ७००।– मात्र तोकिएको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ ।

त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक रु. ५००।– भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. २००।– र अनलिमिटेड डाटाको लागि रु. ३००।– मात्र दर्ता शुल्क तोकिएको छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने छ ।

साथै विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जीएसएम÷सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् ।