राजनीति

धरानमा निर्यातजन्य वस्तु तालिम केन्द्र बन्ने

धरान । धरानमा निर्यातजन्य वस्तुको केन्द्र निर्माण गर्ने नवनियुक्त वाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले बताएका छन् । नेपाली कांग्रेस धरानले गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री विकले यस्तो बताएको हो ।

केन्द्र बनेपछि वैदेशिक व्यापारमा निर्यात हुने रुद्राक्ष, अधुवा, वेसार, सुपारी, चिराइतो जस्ता कृषिजन्य वस्तुहरुको उत्पादन, प्रशोधन, प्याकेजिङ र लेवलिङ सम्बन्धि तालिम तथा कार्यहरु हुने उनले बताए । अहिले भारतले नेपालको अधुवा निर्यातमा रोक लगाएको भन्दै केन्द्र बनेपछि मापदण्ड अनुसार प्रशोधन, प्याकेजिङ, लेवलिङ र तौल कायम गरिन भएकाले निर्यातमा कुनै समस्या नआउने उनले बताए ।

उनले देश, पार्टी, साथी र आफ्नो समुदायको शीर उच्च राख्ने गरी काम गर्ने बताउंदै धरानको विकासका लागि आफ्नो र अन्य सबै मन्त्रालयको काम गर्न कुनै कसर बांकी नराख्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले धरानमा मेयर, उपमेयर र १५ वटा वडामा पराजय भोगेको क्षतिपूर्ति स्वरुप क्याविनेट मन्त्री पाएको भन्दै पार्टी सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवालाई धन्यवाद ज्ञापन गरे । लामो समयको अन्तराल पछि नेपाली कांग्रेसको तर्फवाट धरानले मन्त्री पाएकाले धरानका कांग्रेसीहरुले खुशी र गर्वको अनुभूति गरेको र यो अनुभूति आम धरानवासीले गर्न सक्ने गरी काम गर्न मन्त्री विकलाई उनले आग्रह गरे ।

नगर सभापति तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, ११ नं. वडा सभापति लोकेन्द्र फागो लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव युवराज शंकरले गरेका थिए ।