पु.समाचार

नारायणगढ–मुग्लिन सडकलाई प्राथमिकता, दशै अघि निर्माण कार्य सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडो भन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सो सडक लाइफ लाइनको बाटो रहेको भन्दै जनताले धेरै दुःख पाएकाले चाँडो निर्माण कार्य सक्न भनेका छन् । प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्नसमेत निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी पुगेका थिए । प्रधानमन्त्री देउवाले आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए । दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरेका छन् । सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुगेका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए । अहिलेसम्म सोचेजति प्रगति नभएको भन्दै मन्त्री बलायरले निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन् । अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाको भनाइ छ । यसअघि मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगेका थिए ।

मुग्लिन–नारायणगढ सडक खण्डमा असार २५ देखि रातको समयमा अनिश्चितकालीन बन्द गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुटअनुसार साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिरहेको छ । यसको कारण दैनिक हजारौँ यात्रुले सास्ती खेप्नु परिरहेको छ । सवारी सञ्चालन कार्य अहिले रातको समयमा ११ घन्टासम्म बन्द भइरहेको छ । संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन अनुसार सडकमा रात्रिकालीन समयमा सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको छ । चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ ।