पु.समाचार

भरतपुर महानगरपालिकामा आज पुन मतदान हुँदै, यस्तो छ तयारी

काठमाण्डौ,२० साउन। भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि शुक्रबार निर्वाचन हुन लागेको हो ।

मेयरका लागि माओवादी केन्द्र–कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् । महानगरका जम्मा २९ मध्ये २७ वडाको परिणाम आइसकेको छ । वडा नम्बर १९ मा शुक्रबार मतदान भएपछि वडा नम्बर २० को मत पनि एकैचोटि मतगणना हुनेछ ।

६ वटा मतदान केन्द्र
भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगन्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर मावि बखानपुरमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मतदानस्थलको सय मिटरवरपर निषेधित क्षेत्र घोषणा गरिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

तीन पार्टीका केन्द्रीय नेता चितवनमा
निर्वाचन आफ्नो पक्षमा पार्न प्रमुख दलका केन्द्रीय नेताहरू चितवन केन्द्रित भएका छन् । कांग्रेस केन्द्रीय नेताहरू डा। प्रकाशशरण महत, बालकृष्ण खाण चितवनमै छन् । सर्वोच्चको आदेश आएको भोलिपल्टै नेता अर्जुननरसिंह केसी चितवन आएर फर्किए । चितवनकै सांसद रामकृष्ण घिमिरे पनि जिल्लामा खटिएका छन् ।

त्यस्तै, एमाले उपाध्यक्ष भीम रावल र नेता सुरेन्द्र पाण्डे निर्वाचनका लागि चितवनमा खटिएका छन् । रावल बिहीबार बिहान मात्र चितवन आइपुगेका हुन् । दुई नेताका साथै चितवनकै काशीनाथ अधिकारीलगायतका नेताहरू निर्वाचनमा खटिएका छन् । शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, माओवादी केन्द्रका नेता अमिक शेरचन, चित्रबहादुर श्रेष्ठ र नारायण दाहालको टोली पनि चितवनमै खटिएको छ ।