२७ जेठ, स्याङ्जा । स्याङ्जाको चापाकोट–४ पुम्दीमा आज साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका–५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
साँझ ६ः०० बजे टिपर दुर्घटना हुँदा घाइते भएका परियारलाई उपचारकालागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही टिपरमा रहेका म्याग्दीकै मालिका–५ का १८ वर्षीय करन परियार घाइते भएका छन् । उनको हात र खुट्टामा सामान्य चोट लागेको छ ।
उनको गह्रौँ प्राथमिक अस्पतालमै उपचार भइरहेको छ । चापाकोट–४ मल्याङकोटबाट सोही वडाको घुर्लीचौर जाने सडक निर्माणलागि बालुवा बोकेर जाँदै थियो । ग१क ४४४६ नम्बरको टिपर उकालो बाटो चिप्लो भई सडकबाट झण्डै १०० मिटर तल खसेको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।
घटनास्थलबाट टिपर चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए। —





