पु.समाचार

प्रचण्डले रहस्यमय ढंगले खोलिदिए एउटा खतरनाक राजनीतिक यात्राको ढोका !

काठमाण्डौ । यसबेला भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी केन्द्रको तर्फबाट मेयरमा विजयी भएकी रेणु दाहालको चर्चा उत्कर्षमा पुगेको छ ।

एमालेका देवी ज्ञवालीलाई झिनो मतान्तरले हराएर मेयर बन्न सफल भएकी रेणु पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत हुन् । उनले भरतपुर महानगरपालिकामा जित हासिल गरेसँगै उनको बारेमा थुप्रै अट्कल काटिन थालेको छ ।

भरतपुर महानगरपालिकाको स्थानीय चुनाव चानचुन ढंगले सम्पन्न भएको छैन । वैशाख ३१ गते भएको पहिलो चरणको चुनावपछि भएको मतगणनामा चर्को विवाद भएपछि सो मुद्धा सर्वोच्च अदालतमा समेत पुग्यो ।

सर्वोच्चको फैसला अनुसार भएको पुनःमतगणनाको प्रक्रिया अनुसार भर्खरै मतपरिणाम सार्वजनिक भएको छ । जसमा रेणु दाहाल विजयी भइन् ।

सरसर्ती हेर्दा भरतपुर महानगरपालिकाको चुनावी प्रक्रिया र त्यसको उत्तारचढाव हेर्दा माओवादी अध्यक्ष प्रचण्ड छोरी रेणुलाई जसरी पनि निर्वाचन जिताउन चाहान्थे ।

यसबेला कसले कसरी निर्वाचन जित्यो भन्ने बहस फरक कुरा हो । तर माओवादी अध्यक्ष प्रचण्डको कांग्रेससँग साथ मागेर दक्षिण एसियामा उदाउँदै गएको ‘वंशवादको खतरनाक राजनीति प्रवृत्ति’लाई निरन्तरता दिन खोजेको पुष्टि हुन्छ ।

प्रचण्डले अघि सारेको आफ्नो आन्तारिक रणनीति यसअघि अन्य दलहरुभित्र पनि भैसकेका अभ्यासहरु हुन् ।

वास्तवमा प्रचण्डले छोरी रेणुलाई जसरी पनि योपटक मेयरमा जिताउन चाहान्थे नै । उनको आफ्नो आन्तारिक योजना भनेको छोरी रेणुलाई राष्ट्रिय राजनीतिमा अघि ल्याउनु थियो, त्यसमा उनी सफल भएका छन् ।

छोरा प्रकाश दाहालका उदण्ड व्यवहारका कारण राजनीतिक निरन्तरताको भविष्य नदेखेपछि प्रचण्डले छोरी रेणुलाई अघि बढाएर राष्ट्रिय राजनीतिमा ल्याउने तयारी गरिरहेका छन्, भरतपुरको सफलताले यसमा बाटो खोलिदिएको छ ।

उनले आफ्नो वंशवादको राजनीतिलाई अब भरतपुर महानरपालिकाको विजययात्राबाट अघि बढाएका छन् । जसको अन्तिम गन्तव्य रेणुलाई मुलुकको प्रधानमन्त्री सम्म बनाउने हुनेछ ।

दक्षिण एसियामा देखिएको खतरनाक प्रवृत्तिको निरन्तता !

नेपालमा मात्र होइन, दक्षिण एसियाका अन्य राष्ट्रहरुमा समेत वंशवादको राजनीति यसरी अघि बढेको देखिन्छ । भारतमा जवाहरलाल नेहरुले छोरी इन्दिरा गान्धीलाई मुलुकको प्रधानमन्त्री बनाउनु, पाकिस्तानमा केही वर्षअघिसम्म भुट्टो परिवारको उदय हुनु, नेपालमै पनि नेपाली कांग्रेसभित्र तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरलाले छोरी सुजाता कोइरालालाई प्रधानमन्त्री बनाउनका लागि पटक–पटक प्रस्ताव राख्नु लगायतका संकेतहरुले दक्षिण एसियामा वंशवादको राजनीति कसरी अघि बढिरहेको छ भन्ने प्रष्ट प्रमाण जुटेको देखिन्छ । त्यसैले माओवादीभित्र पनि यो प्रवृत्तिको उदय प्रचण्डले गर्न खोजेका छन् ।

अबको उनको मिसन भनेको छोरी रेणु दाहाललाई राष्ट्रिय राजनीतिमा स्थापित गराउनु हुनेछ । मुलुककै प्रभावशाली महानगरमध्ये एक भरतपुरमा साम,दाम,दण्ड,भेद सबैको प्रयोग गरेर रेणुलाई जिताउनुको अर्थनै माओवादीभित्र वंशवादको राजनीतिक यात्राको सुरुवात भएको संकेत हो ।

यसले माओवादीभित्र मात्र होइन, नेपालको राजनीतिक रंगमञ्चमा समेत नयाँ खेलको सुरुवात गर्ने निश्चित छ । अबका केही वषभित्र प्रचण्डले यो मुलुकको पहिलो महिला प्रधानमन्त्रीका रुपमा छोरी रेणुलाई अघि सारे भने आश्चर्य नमान्दा पनि हुन्छ ।

यसअघि तत्कालीन कांग्रेस सभापति स्व.गिरिजाप्रसाद कोइरालाले समेत छोरी सुजातालाई अघि सारेर यो असफल अभ्यास नगरेका होइनन् तर गिरिजाप्रसाद कोइरालाले सुजातालाई उपप्रधानमन्त्री मात्र बनाउन सकेका थिए ।

प्रचण्डले समेत पारवारिक रुपमा यो अभ्यास सुरु गरेका छन् । हेरौ उनको यो प्रयास कति सफल हुन्छ, त्यो त समयलेनै देखाउँछ ।