पु.समाचार

४ बालिकाको शव सडकमा राखेर प्रदर्शन, घटनाबारे सरकारलाई जवाफ दिन सभामुखको निर्देशन !

काठमाण्डौ, २२ साउन । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे सरकारको विशेष ध्यानाकर्षण गराएकी छन् । सभामुख घर्तिले संसद्को अर्काे बैठकमा सोबारे जवाफ दिन सरकारलाई निर्देशन दिएकी हुन् ।
त्यसअघि आजको बैठकको प्रारम्भमा समय माग गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सो सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाहीको आलोचना गरेका थिए । उनले आफूहरूले यस्ता घटना हुन नदिनेतर्फ आवश्यक प्रयास गर्न सरकारको पटक÷पटक ध्यानाकर्षण गराएको तर त्यसको सुनुवाइ नभएको भन्दै मृतक बालिकाका अभिभावकलाई राहतको व्यवस्था गर्न र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न माग गरेका थिए ।
देशका विभिन्न भागका सडकका खाल्डा नपुरिँदा हालसम्म ११ बालबालिकाको मृत्यु भइसकेको पनि ढकालले उल्लेख गरेका छन् । सांसद ढकालले गरुडा घटनालगायत सडकका खाल्डामा डुबेर ज्यान गुमाएका तथा त्यस्तै प्रकृतिका घटनाका सम्बन्धमा सरकारले सदनलाई जानकारी नदिएसम्म संसद्को कारबाही सञ्चालन गर्न नदिने भनेपछि एमालेका सबै सांसद आआफ्नो आसनबाट उभिएका थिए । विपक्षी दलले उठाएका विषयमा सरकारलाई गम्भीर हुन सभामुखले निर्देशन दिँदै एमालेका सांसदहरुलाई बस्न आग्रह गरेपछि बैठक सञ्चालन भएको थियो । आजको बैठकको शून्य समयमा सांसद् रामहरि खतिवडाले प्रधानमन्त्रीले १५ दिनभित्र काठमाडौँका सडकका खाल्डा पुर्न निर्देशन दिए पनि काम नभएकामा आपत्ति जनाउँदै रौतहटमा चार बालिकाको मृत्यु हुनु अति पीडादायी घटना भएको बताएका छन् ।

हिजो दिउसो निर्माण कम्पनीले खनेको खाल्डोमा परेर रौतहटमा ४ बालिकाको मृत्यु भएको हो । सडक निर्माणको क्रममा दुर्गा निर्माण सेवाले खनेको अव्यवस्थित खाल्डोमा जमेको पानीमा डुबेर ४ बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा नगरपालिका ४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता शाह, ९ वर्षया संगिता शाह, नागेन्द्र शाहकी ९ वर्षीया छोरी सुनैना शाह र नारायण शाहकी ९ वर्षीया छोरी सुश्मिता शाह रहेका छन् । घाँस काटेर घर फर्किँएका उनीहरु खाल्डोमा नुहाउनको लागि पुग्दा डुबेका थिए ।

यसैबीच रौतहटको गरुडा नगरपालिकाको खाल्डोमा डुबेर ज्यान गुमाएका ४ बालिकाको शव आज सडकमा राखेर मृतकका आफन्त र स्थानियले नारावाजी गरेका थिए । बालिकाहरुको शव पोष्टमार्टमपछि आफन्तले गरुडा नगरपालिकाको कार्यालय अगाडि बाटोमा शव राखेर करिब दुई घण्टा सडक जाम गरेका हुन् । एसपी यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतक परिवारलाई किरियाखर्च वाफत १५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलाइएको थियो ।

यसैबीच सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई पनि प्रहरीले पक्राउ गरेको छ । ठेकेदार मध्येका एक प्रल्हाद साहलाई प्रक्राउ गरिएको हो । ठेकेदारले सडक बनाउँदा खाल्डो खनेको र खाल्डो नपुरेकाले जमेको पानीमा डुबेर बालिकाहरुको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाएका थिए । गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो ।