अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको हवाई फाइरीङ्गमा परी ४३ सिरियाली सर्वसाधारणको मृत्गु

दमास्कस, २२ साउन । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने राक्वा शहरमा शनिबार गरेको आक्रमणमा परी कम्तीमा ४३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

लडाकू विमानबाट राक्वाको आवास क्षेत्रलाई लक्षितगरी शनिबार मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।

राक्वामै शुक्रबार राति सात बालबालिकाको मृत्यु भएको केही घण्टामा यो आक्रमण भएको पनि उक्त समाचार समितिले शनिबार दिएको समाचारमा उल्लेख छ ।

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

सिरियाली अरब रेड क्रिसेन्टकी राक्वास्थित प्रतिनिधि डिना असदलाई उद्धृतगर्दै सानाले राक्वाको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको पुष्टि गरेकी छिन् ।

“अस्पतालमा २० भन्दा बढी बमहरु सञ्चित गरिएको छ, अस्पतालमा रहेका विद्युतीय सामाग्री, जेनेरेटर, एम्बुलेन्स र विभिन्न प्रकारका सामान पनि ती बमले नष्ट गरिदिएको छ,” असदले भनिन् ।

अस्पतालले शहरका एक लाख भन्दा बढी जनतालाई सेवा दिँदै आएको छ ।

असदले अस्पतालमा इस्लामिक स्टेट (आइएस) लडाकूको उपस्थिति नभएको बताईन् । उनले थपिन्, “राक्वा आतङ्कबादीका नाममा आक्रमण गर्न मिल्ने ठाउँ होईन, नष्ट गर्ने मात्र हो ।”

“आक्रमण विद्यालयहरु र खाजा पसललाई लक्षित गरेर भएको थियो, सरकारी संस्था र संरचना पनि ध्वस्त भएका छन्,” असदले भनिन् ।

सो संस्थाका राक्वा प्रमुख फावाज असाफले अमेरिकी नेतृत्वको गठबन्धन र कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) राक्वामा संयुक्तरुपमा आइएस विरुद्ध लगेको बताए ।

उनले ६५ भन्दा बढी सरकारी संस्था र भवन पूर्ण रुपमा नष्ट भएको र त्यसमध्ये चिनी मिल अरुभन्दा निकै महत्वपूर्ण रहेको बताए ।

हवाई आक्रमण विद्यालयहरु, बैंक, बजर क्षेत्र, खाजा पसलहरुमा बढी लक्षित हुने गरेको पनि उनको भनाइ थियो । यसले गर्दा उपभोक्ता तथा क्रेताहरु कोही नभएपछि सडक पुरै खाली भएको थियो ।

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसङ्घ मार्फत आग्रह गर्दै आएको छ ।

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको जनाइएको छ ।