उर्जा

ऐतिहासिक उद्योगलाई नयाँ ढंगबाट सन्चालन गर्ने : आपूर्तिमन्त्री

विराटनगर, २५ साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले सरकारी स्वामित्वका ऐतिहासिक महत्व बोकेका उद्योग नयाँ स्वरुपमा सन्चालन हुने बताएका छन् ।
उद्योग संगठन मोरङको ४५ औं साधारणसभाको बुधबार विराटनगरमा उद्घाटन गर्दै उनले ऐतिहासिक महत्वका उद्योगहरु बन्द गर्नुको सट्टा त्यस्ता उद्योगहरुलाई सन्चालन गर्न विकल्प खोज्ने काम भइरहेको बताएका हुन् ।


मन्त्री मण्डलले हेटौंडा कपडा उद्योग, विराटनगर जुट मिल, नेसनल ट्रेडिङ लिमिटेडलगायतका ऐतिहासिक महत्वका उद्योगलाई नयाँ ढंगबाट सन्चालन गर्ने तयारीमा सरकार रहेको छ उल्लेख गरेका छन् । रोजगारीसँग जोडिएका मुलुकभरका उद्योग प्रतिष्ठनालाई कुनैपनि हालतमा बन्द हुन नदिने पनि मन्त्री मण्डलको भनाइ थियो ।


सोही अवसरमा मन्त्री मण्डलले उद्योग संगठन मोरङका महानिर्देशक सोमनाथ अधिकारी, प्रदर्शनीस्थलका लागि भाडामा सो संगठनलाई मन्दिरको दुई बिगाहा जग्गा उपलब्ध गराएका सत्यनारायण मन्दिर सञ्चालक समितिका अध्यक्ष बल्लभप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालालाई सम्मान गरेका छन् ।