पु.समाचार

सौराहामा राप्ती र बूढी राप्तीको भेल पस्यो, सबै होटल डुबानमा

चितवन, । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए ।

सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् ।

विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताउनुभयो । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।

यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए ।

नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।