राजनीति

डुबान क्षेत्रमा पीडितहरु रोइरहेका बेला कांग्रेसले गर्यो उदाहरणीय कामको घोषणा !

काठमाण्डौ । मुलुकको आधाजसो भाग यसबेला बाढी र पहिरोका कारण निकै पीडादायक स्थितिबाट गुज्रिरहेको छ । पूर्वदेखि पश्चिमसम्मकै तराई–मधेस क्षेत्र डुबानमा परेको छ । ५० औं जनाको ज्यान गइसकेको छ भने दर्जनौ सर्वसाधारण बेपता भएका छन् । अर्बौको धनमाल क्षति भएको छ । यो बेला मुलुकको नेतृत्व गरिरहेका राजनीतिक दलहरु के गरेर बसेका छन् ।

यो सबैको चासोको विषय हो । मुलुकका ठूला दलदेखि आफुलाई मधेसको मुखिया ठान्ने मधेसवादी दलका नेताहरु कहाँ छन् ? मधेसवादी दलहरुले त पुरै तराई क्षेत्र डुब्दा समेत कुनै प्रभावकारी काम गरेको देखिएन ।

आन्दोलका बेला बलि चढाउन तयार हुने मधेसी जनताको पीडामा मधेसी दलहरुलेनै केही चासो नदेखाएपनि मुलुकका ठुला दलहरुले भने केही महत्वपूर्ण निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले दलका कार्यकर्ताहरुलाई जतिसक्दो छिटो राहत र उद्धारमा खट्न निर्देशन दिएका छन् । त्यतिमात्र होइन नेपाली कांग्रेसले सत्ताको नेतृत्व गरेको नाताले पनि डुबान क्षेत्रका बासिन्दाका लागि छिटो पहल लिएको देखिएको छ ।

नेपाली कांग्रेसको उदाहरणीय काम !
आइतबार बसेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आफ्नो पार्टीका प्रत्येक सांसदले एक–एक महिनाको तलब डुबान पीडित परिवारलाई दिनुपर्ने निर्णय गरेको छ । जुन काम अन्य दलहरुको भन्दा निकै उदाहरणीय रहेको देखिन्छ ।

अन्य दलहरुले विज्ञप्ति जारी गरेर सहानुभूति मात्र जनाइरहेका बेला कांग्रेसले आफ्नो पार्टीको तर्फबाट बाढी पीडित क्षेत्रका बासिन्दाका लागि उक्त सहयोगको घोषणा गर्नु निकै राम्रो र उदाहरणीय काम भएको सर्वसाधारणहरु बताउन थालेका छन् ।

कांग्रेसले बाढी पीडितहरुका लागि सहयोग गर्न कुपण्डोलस्थित नेपाल बैंक लिमिटेडको नेपाली कांग्रेस बाढीपीडित सहयोग कोषको खाता नम्बर ०१३५–११–००१००७५ मा रकम जम्मा गर्न सवै पक्षसँग आह्वान गरेको छ ।

कांग्रेससँग यसबेला २ सय ७ जना सांसदहरुले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका छन् । उनीहरु सबैको एक महिनाको तलब मात्रै बाढी पीडितहरुका लागि छुट्याउँदा पनि राम्रै सहयोग जुट्ने देखिन्छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले पार्टी नेता तथा कार्यकताहरुलाई तत्काल डुबान क्षेत्रमा गएर राहत तथा उद्धारका लागि खट्न समेत निर्देशन दिएको छ । बाढी पीडितका परिवारका लागि सहयोग गर्ने कुरामा कुनै कसर बाँकी नराख्न समेत बैठकले निर्देशन दिएको जनाइएको छ ।

मुलुकलाई प्रभावित पारिरहेको बाढी पहिरोको यो समस्याका बीच सुरुमै नेपाली कांग्रेसको यो निर्णय गरेर तीव्र पहल लिनु निकै स्वागतयोग्य कुरा भएको सर्वसाधारणहरु बताउन थालेका छन् ।

शेखर कोइरालले तिव्र रुपमा पहल लिएपछि….!
त्यस्तै, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि निकै उदाहरणीय काम गरेका छन् । अन्य दलका नेताहरुले विज्ञप्ति निकालेर सहानुभूति दिँदा नदिँदै नेता कोइरालाले हेलिकोप्टर चार्टर गरेर विराटनगर वरिपरिका बाढीपीडितहरुलाई राहात बाढेका थिए । उनले सो क्षेत्रका पीडितहरुको दुःखमा सुरुमै साथ दिएकोले पनि उनको यसबेला निकै चर्चा भैरहेको छ ।