पु.समाचार

कोशी फुट्ने हल्ला चलेपछि सरकारी अधिकारीद्वारा कोशी बाँध तथा स्पर निरीक्षण

इनरुवा, ३० साउन । सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाध तथा स्पर निरीक्षण गरेका छन् ।

सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरे सहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी थिए ।

त्यसैगरी सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतले कोशी बाँध तथा स्परको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार निरीक्षणका क्रममा कोशीको बाँध तथा स्पर भत्किने कुनै खतरा नरहेको र बिगतको तुलनमा मजवुत भएका कारण अहिले बाँध भत्किने स्थिति छैन ।

कोशी नदीमा अहिलेकै अवस्थामा पानीको बहाव यथावत रहे सुनसरी र सप्तरीमा कुनै खतरा नहुने प्रजिअ पराजुलीले बताए ।

भारतीय पक्षले डेढ सय जेनरेटर र तीन सय मजदुर खटाएको र उनीहरुबाट थप सुरक्षा गरिने भएकाले कोशी फुट्ने सम्भावना न्यून रहेको उनले उल्लेख गरे ।