राजनीति

प्रधानमन्त्री देउवा सहित ६ अन्य मन्त्रिहरु सुनसरीको बाढीग्रस्त क्षेत्र निरीक्षणमा

इटहरी, ३० साउन । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिएपछि प्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जर्नादन शर्मा तथा अन्य उच्च पदस्थ कर्मचारी छन् ।
प्रधानमन्त्रीसहितको टोली सुनसरी जिल्लाका बाढीपीडितको अवस्था, राहत वितरण, सुरक्षा व्यवस्था र पुनःस्थापनाका लागि भइरहेका कामबारे बुझ्न यहाँ आएको हो ।

इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा पूर्वाञ्चलका बाढीपीडितको अवस्थाका विषयमा टोलीबाट जानकारी लिने काम भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

टोली वर्षा र बाढीबाट प्रभावित भएका र डुबानमा परेका स्थानको हेलिकप्टरबाट निरीक्षण गरेर पूर्वी पृतनामा पुगेको बताइएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीन विश्वकर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देवसहितको टोलीले सुनसरी सदरमुकाम इनरुवा क्षेत्रमा बाढीले पुर्याएको नोक्सानीका विषयमा जानकारी लिन आजै अपरान्ह आइपुग्ने जानकारी सुनसरी प्रशासनले दिएको छ ।