समाचार

लामो अनसनमा रहेकै बेला एक्कासि धुरुधुरु रोए डा.गोविन्द केसी !

काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर ३ हप्ताभन्दा बढी समयदेखि अनसनरत डा.गोविन्द केसी अहिले थप तनावमा देखिएका छन् । उनी सरकारले आफ्नो मागहरुको सुनुवाई नगरेको भन्दै तनावमा परेका होइनन्, बरु केही दिनयता पूर्वी र मध्य तराईमा बाढी आएर सयौं सर्वसाधारण व्यक्तिको ज्यान गएको र दर्जनौ बेपत्ता भएको खबर सुनेपछि थप तनावमा रहनुभएको जनाइएको छ ।

यसअघि तराई–मधेस,पहाड, हिमाल जहाँ विपत्ति आएपनि औषधी बोेकेर उपचारका लागि पुग्ने डा.केसी यसेबला तराई–मधेस डुब्दा निकै लामो कष्टप्रद अनसन बसिरहेका छन् ।

आफुले राखेका मागहरुको सरकार र सम्बन्धित निकायले सुनुवाई नगर्दा एकातिरको पीडा त छँदैछ, त्यसमा पनि वर्षेनी प्राकृतिक विपत्ति आउँदा अग्रपंक्तिमा रहेर पीडितहरुको सेवामा समर्पित हुने डा. केसी योपटक भने त्यो अवसरबाट समेत बञ्चित भएका छन् ।

त्यसैले पनि उनी ती खबरहरु सुनेर पीडाबोध गरेर सुतिरहनुभएको डा.गोविन्द केसीको पक्षमा आन्दोलन गरिरहेका उनका समर्थकहरु बताइहेका छन् ।

तराई–मधेसमा बाढीको खबर सुनेपछि धुरुधुरु रोए डा.केसी !

शनिबारदेखि पूर्वी, मध्य र पश्चिम तराईमा आएको बाढीका कारण ठूलो क्षति भएको सुनेपछि डा.केसी रोएका छन् । शनिबार बाढी आएपनि त्यसको केही समयपछि मात्र उनले त्यो खबर पाएका थिए ।

सुरुमा उनले पूर्वी तराईमा बाढी आउनु सामान्य भएको र यो घटना वर्षेनी हुने गरेको महसुस गरेजस्तो गरेपनि आइतबार यता सञ्चारमाध्यामबाट ८० जना भन्दा बढीको मृत्यु भएको खबर आएसँगै उनले पीडिा महसुस गरेर रोएको बताइएको छ ।

सोमबार सप्तरीमा एक बालकको मृत्यु भएपछि उनको दाहसंस्कार गर्ने ठाउँ समेत नपाएको र उनको मृत्युको कारण सुनेपछि डा.केसी धुरुधुरु रोएका थिए । तर उनी रुन थालेपछि मुटुमा थप समस्या हुनसक्ने देखेर सहकर्मी चिकित्सकहरुले पीडामा नरहन आग्रह गरेको श्रोतले बताएको छ ।

पछिल्ला दिन तराई–मधेसबाट एकपछि अर्को संवेदनाका खबर आइरहने क्रम जारी रहेपछि उनले औषधी लिएर जान सकिन्छ कि भन्ने सोच समेत बनाएको तर अनसन ताडेर पनि आफु उठ्न केही हप्ता लाग्ने देखेपछि अनसनलाई नै निरन्तरता दिनुभएको पारिवारिक श्रोतले बताएको छ ।