समाचार

नगरबसमा जिपिएस प्रणाली जडान, मोबाइलबाटै अन्य जानकारी पाउने

पोखरा, १ भदौ । पोखरा बस व्यवसायी समितिले पोखरा नगर क्षेत्रभित्र सञ्चालन भइरहेका नगरबसमा जिपिएस (सोलुसन) प्रणाली जडान गरेको छ ।

नगर क्षेत्रमा गुडिरहेका नगरबसको अवस्थाका बारेमा समितिको कार्यालयबाटै जानकारी होस् भन्ने उद्देश्यले उक्त प्रणाली लागू गरिएको समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

कहिलेकाहीँ कर्मचारीको बदमासीले तोकिएको रुटमा बस नचली अन्यत्रै चल्ने, यात्रु कम भए भनेर बीचबाटोबाटै गाडी फर्काउने, नगरबसको गति शहरी क्षेत्रभित्र ४० र ग्रामीण क्षेत्रमा ३० किमी प्रतिघण्टा हुनु पर्नेमा नभएकालगायत गुनासा आएकाले सो प्रणाली लागू गर्नुपरेको उनले बताए ।

उक्त प्रणाली लागू भएपछि बसधनीले आफ्नो मोबाइलबाटै जानकारी पाउने, बस दुर्घटनामा परे वा अरु कसैलाई ठक्कर दिए सजिलैसँग घटनाको वारेमा र बसको नम्बर पत्ता लगाउन सुरक्षा निकायलाई सजिलो हुने बताइएको छ ।

जिपिएस प्रणाली जडान गर्न समितिले रु ८० लाख खर्च गरेको छ । यसका लागि समितिले एक इन्जिनियर, एक सवइन्जिनियर र अन्य चारजना प्राविधिकलाई रोजगारी मिलेको छ । समितिले गत साउन २० गतेबाट दुईवटा रुटबाट राति ९ बजेसम्मका लागि सन्ध्याकालीन बससेवा शुरु गरेको छ । नगरवासीलाई राति अबेरसम्म नगरबसको सेवा दिने उद्देश्यले उक्त सेवा दिन थालिएको हो । पोखरा–लेखनाथ महानगरपालिकाका ३३ वडा मध्ये ३१ वडालगायत माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिकामा ३७८ वटा बसबाट समितिले सेवा पुर्याउँदै आएको छ ।