समाचार

धुर्मुसले गरे अर्को उदाहरणिय काम, धेरैले दिए भगवानको नाम

महोत्तरी, २ भदौ । तराईको समाजमा उदाहरणिय काम गर्दै प्रसिद्धी कमाएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गरेका छन् ।

सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी अर्को सफलता हासिल गरेका हुन् । छ महिना अघि आगो शरीरमा सल्केर शरीर जलेको र पैसाको अभावमा उपचार गराउन नसकेकी माझीलाई बिहीबार दिउँसो उद्धार गरी बर्दिवासस्थित जनसेवा अस्पतालमा उनले भर्ना गराएका हुन् ।

आगलागी पीडितको पीडामाथि फेरि बाढीको पीडा थपिएको सुनेर धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका सीताराम कट्टेल ‘धुर्मुस’ केहीबेर भक्कानिएका थिए । पूर्णरुपमा शरीर जलेको र पैसाको अभावमा समयमा उपचार गराउन नसकेर जीवन मरणको दोसाँध रहेकी महिलामाथि बाढीले गर्दा अर्को पीडा थपिएको देख्न नसकेर धुर्मुस भक्कानिँदै ती महिलाको उपचारमा जुटेका हुन् भने ति महिलाको लागी भगवानको रुप लिएर आएका हुन् सीताराम कट्टेल ‘धुर्मुस’ ।

राहत सामग्री लिनजान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफूले वर्षौंअघि दालले पोलेर डेढ महिना थलिएको पीडा सम्झेको धुर्मुसले बताए । “आगोले पोल्दाको पीडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पुर्याएको हुँ”, धुर्मुसले पत्रकारसँग भने ।

छव्बिस घर परिवारलाई राहत बाँडेर गाँउ घुम्न जानेक्रममा आफूले रत्नेदेवीलाई विचल्ली अवस्थामा भेटेको धुर्मुसले जानकारी दिए । पीडित महिलाको हातखुट्टाको नशासमेत खुम्चिसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिवासका होटल व्यवसायी हीरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि बिहीबार उनलाई अस्पतालमा भर्ना गरेको हो ।

अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ्याउन भने शल्यक्रिया गर्नुपर्ने डक्टरले बताएका छन् । त्यसका लागि उनलाई केही दिनपछि काठमाडौँ पठाइने फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

तराई मधेशमा बाढीले आफ्नो कहर देखाउँदा मानवीय सेवाका लागि राहत लिएर मधेश झरेका धुर्मुसले राहत बाँड्दै जाँदा ती महिलालाई उद्धार गरेका हुन् ।
राहत सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका २६ बाढी पीडितलाई बिहीबारै राहत वितरण गरेका छन् ।

यसभन्दा अगाडि धुर्मुसले महोत्तरीको बर्दिवासमा रु चार करोडको लागतमा मुसहर समुदायका लागि एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेका थिए ।