समाचार

प्राकृतिक प्रकोप प्रभावितलाई सहयोग

काठमाडौँ, ४ भदौ । युवा संघ नेपालले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएकालाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन अध्यक्ष राजीव पहारीको नेतृत्वमा ४५ सदस्यीय टोली आज प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ ।

सप्तरीमा मृत्यु भएका बालकको परिवारलाई रु २५ हजार आर्थिक सहयोग गरी सुनसरी, मोरङ, झापालगायत स्थानमा पीडितलाई स्थानीय प्रशासनसँग समन्वय गरी राहत उपलब्ध गराइने छ ।

यसअघि संगठनका उपाध्यक्ष रमेश पौडेलको नेतृत्वमा सप्तरीलगायत अन्य प्रभावित क्षेत्रमा भएको धनजनको क्षतिको अवस्था बुझ्न एक टोली त्यहाँ गएको थियो ।
सो टोलीलाई पार्टीका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले बिदाइ गर्दै प्राकृतिक विपद्मा परेका नागरिकलाई मानवीय सेवाको भावनाले सक्दो सहयोग गर्न निर्देशन दिए ।

अध्यक्ष पहारीले तराई तथा मधेशमा गएको बाढी र पहिरोबाट प्रभावितलाई गाँस, बास र कपासको खाँचो रहेकाले विभिन्न क्षेत्रबाट उत्साहका साथ राहत संकलन गर्नुपर्ने बताए ।

उपाध्यक्ष दिलु पन्तले प्रत्येक वर्ष वर्षामा यस किसिमको समस्या आइरहने हुँदा समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न माग गरिन् । मकवानपुर, चितवन, नवलपरासी, पर्सालगायत क्षेत्रमा पनि सो संघले राहत वितरण गरेको जनाइएको छ ।

त्यसैगरी, सुनसरीको रामधुनी नगरपालीका वडा नं. ६/७ मा गएको राहतको सामान प्रभावित क्षेत्रमा वितरण नहुँदा सो वडाका तरुणदल युवा नेता आशिष श्रेष्ठ सहित सम्पुर्ण युवाहरु राहत वितरण गराउन जुटेको र केही दिन भित्रमै पिडितहरुले राहत पाउने जनाइएको छ ।