राजनीति

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकले विधेयकको विपक्षमा मतदान गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकको निर्णयअनुसार प्रमुख सचेतक कुन्तीकुमारी शाहीद्वारा राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम आज बस्ने बैठकमा सांसदलाई पार्टीको निर्णय पालना गराउन ह्विप जारी गरेकी हुन् ।
पार्टीको यही भदौ १ देखि ४ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।