समाचार

पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुद्वारा पदभार ग्रहण

काठमाण्डौ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गरेका छन् ।

महासंघद्वारा आयोजित पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यलाई निवर्तमानले पदभार हस्तान्तरण गरेका हुन् ।

गत भदौ ५ गते सम्पन्न महासंघको २५ औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा विपुल पोख्रेल र दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, उदय जिएम, शीतलप्रसाद महतो, रेमबहादुर विश्वकर्मा र प्रकाश थापा तथा कोषाध्यक्ष राजेश मिश्र निर्वाचित भएका थिए । महासंघमा पदाधिकारीसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नवनिर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष डा महेन्द्र विष्टले महासंघको बगैँचामा कपुरको बिरूवा रोपेर र नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले त्यही बिरूवामा पानी राखेर पद हस्तान्तरण गरेका थिए । महासंघले निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी महासंघका कर्मचारीलाई पनि सम्मान गरेको छ ।

सोही अवसरमा सभामुख ओनसरी घर्तीले पत्रकारको पेशागत हक हितका लागि महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । सोही क्रममा सभामुख घर्तिले संविधान कार्यान्वयन अन्तर्गत दलहरूले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरेको भन्दै २ नं प्रदेशको चुनावमा मधेशी दल सहभागी हुनु आफैँमा सकारात्मक भएको पनि बताइन् । यस्तै उनले अब हुने चुनाब र संविधान कार्यान्वयनमा पत्रकारको भूमिका प्रमुख हुने उल्लेख गरिन् ।

नवनिर्वाचित अध्यक्ष आचार्यले महासंघ सधैँभरि प्रेस स्वतन्त्रताको पक्षमा रहने बताए । सबैको सल्लाह, सुझावका आधारमा सबै पक्षलाई साथमा लिएर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । अध्यक्ष आचार्यले अहिले एक करोड ४६ लाख ५३ हजार रुपैयाँ रहेको महासंघको कल्याणकारी कोषलाई बढाएर आफ्नो कार्यकालमा कम्तीमा पाँच करोड पुर्याउने बताएका छन् ।

निवर्तमान अध्यक्ष डा विष्टले आफ्नो कार्यकालमा आम सञ्चार नीति, पत्रकारको उपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ पत्रकार सम्मान र पत्रकारको न्यूनतम् पारिश्रमिकलगायतका महत्वपूर्ण काम भएको जानकारी गराएका थिए ।