उर्जा

ऊर्जामन्त्रीले दिए नयाँ निर्देशन

काठमाडौँ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सात दिनभित्र नयाँ परियोजनाको सूची मन्त्रालयमा पेश गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालयमा शुक्रबार आयोजित आव २०७३/७४ को वार्षिक समीक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले काम भएन, काम पाइएन भन्दै नबस्न र सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।

विशेषगरी जलविद्युत् उत्पादन कम्पनी, जलविद्युत् उत्पादन तथा विकास कम्पनी, विद्युत् विकास विभाग, जल तथा ऊर्जा आयोग, राष्ट्रिय प्रसारण कम्पनीलगायत निकायलाई कामको सूची पेश गर्न निर्देशन दिँदै उन्ले परम्परागत तथा नियमित तरिकाले काम गरेर सुधार हुन नसक्ने भएकाले द्रुत विधिबाट काम गर्ने वातावरण मिलाउन र जनताले कुनै पनि गुनासो गर्ने अवस्था आउन नदिन कर्मचारीलाई सचेत गराए ।

लगानी गर्न नसक्ने र केवल आयोजना हड्पेर मात्र बस्ने प्रवृत्तिको अन्त्यका लागि आर्थिक रुपमा सबल भएका र सबल देखिएकालाई परियोजनाको अनुमतिपत्र दिन, अनुमतिपत्र लिएको दुई वर्षभित्र निर्माण सुरु गराउन र आवश्यक नीतिगत सुधारका लागि के कस्तो गर्नुपर्ने हो त्यसको समेत फेहरिस्त बनाउन उनले मातहतका निकायलाई आग्रह गरे ।

काम गर्ने तरिकामा सुधार ल्याउन, जनता र मुलुकप्रति उत्तरदायी बन्न तथा पारदर्शी तवरले काम गर्न आग्रह गर्दै उनले भने,, “काम सार्ने र जागिर पकाउने तरिकाले अब चल्न सक्दैन । नयाँ सोच जरुरी छ । घिसेपिटे तरिकाले परिवर्तित समयको मागलाई सम्बोधन गर्न सकिँदैन ।”

नदी प्रवाहमा आधारित आयोजनाभन्दा पनि बहुउद्देश्यीय आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राख्न जोड दिँदै उनले ऊर्जाको माग र जनताको चाहानलाई सम्बोधन गर्न पनि ठूला आयोजना आवश्यक रहेको उल्लेख गरे ।

सो अवसरमा ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले ‘उज्यालो नेपालको अभियान’ले जनताका केही हुन्छ र केही गर्न सकिन्छ भन्ने सन्देश गएकाले हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

बैठकमा ऊर्जा मन्त्रालयका सचिज अनुपराज उपाध्यायले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिँदै आव २०७३र७४ मा देखिएका समस्या समाधान गरेर तय भएका कार्यक्रम अगाडि बढाउन आग्रह गरे ।

विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले काम गर्न नसक्ने प्रवद्र्धकलाई १५ दिने सूचना दिएर सम्पर्कमा आउन आग्रह गरिएको र नीतिगत सुधारको प्रयास भइरहेको जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले जनताको सेवालाई नै ध्यानमा राखेर काम गरेका कारण सफलता प्राप्त गरेको बताउँदै आगामी दिनमा जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिइएको उल्लेख गरे ।

ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह

ऊर्जामन्त्री शाहीले नेपालमा जलविद्युत् क्षेत्रको बहुउद्देश्यीय मोडल परियोजना निर्माण गर्न अष्ट्रेलियालाई आग्रह गरेका छन् । मन्त्रालयमा शुक्रबार नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडसँगको शिष्टाचार भेटका अवसरमा मन्त्री शाहीले कृषि, पर्यटन, खानेपानी, वातावरणलगायत क्षेत्रमा सहयोग पुग्ने आयोजना जरुरी रहेको औँल्याउँदै देखिने गरी ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे । ठूला परियोजना सरकार–सरकारको सम्पर्कबाटै पनि लागू गर्न सकिने मन्त्री शाहीको भनाइ थियो ।
राजदूत बडले आफ्नो मुलुकमा संघीय राज्यले नै जलस्रोतको बहुआयामिक उपयोगका बारेमा फरक फरक तबरले काम गरिरहेको जानकारी दिँदै त्यस्तो अनुभव नेपालका लागि समेत उपयोगी हुने बताए ।