समाचार

आज ऋषी पञ्चमी, हिन्दू महिलाहरुले धुमधामसाथ मनाउँदै

काठमाण्डौ । आज भाद्र शुक्ल पञ्चमी । हिन्दू महिलाहरुले सप्तर्षिको पुजा गरी आज ऋषिपञ्चमी पर्व मनाउँदैछन् । आजको दिन महिलाहरु नजिकैको नदी, तलाउ, खोला, धारा, पोखरी आदि जलाशयमा गएर ३ सय ६० वटा दतिवनले दाँत माझ्ने गर्छन् ।

ब्रतालु महिलाहरुले माटो, तिल, अमला र पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गर्दछन् । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । रजस्वलाको समयमा छुइछाई भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । सुयोग्य र गुणसम्पन्न सन्तान प्राप्तिका लागि पनि ऋषिपञ्चमीको व्रत एवम् पूजा आवश्यक भएको धर्मशास्त्रविद्को भनाई छ ।

ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तर्षिको पूजा लगाएपछि तीज समाप्त हुन्छ । भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका साथ ऋषिको पूजा गरेपछि हिन्दु नारीको प्रमुख चाड तीज समाप्त हुन्छ ।

ऋषिपञ्चमीको अवसरमा काठमाण्डौंको टेकु लगायत मुलुकभरका ऋषि मन्दिरमा बिहानैदेखि महिलाहरुको घुईंचो लागेको छ ।