राजनीति

नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवीको आज स्मृति दिवस

काठमाण्डौ । नेपाल महिला संघका संस्थापक अध्यक्ष स्व मंगलादेवी सिंहको २१ औँ स्मृतिदिवस आज उनको योगदान गर्दै स्मरण गरिएको छ ।
१९८१ सालमा काठमाडौंमा जन्मिएकी मंगलादेवीको २०५३ साल भदौ १० गते निधन भएको थियो ।

१९९७ सालको असारमा लौहपुरुष गणेशमान सिंहसँग विवाह भएको थियो । १९९७ सालकै कात्तिक महिनामा गणेशमान सिंहलाई जन्मकैद भएपछि मंगलादेवी जहाँनिया राणा शासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन् । उनले २००४ सालमा नेपाल महिला संघको स्थापना गरेकी थिइन् ।

२००५ सालमा पद्म शमशेरको शासनप्रति असन्तुष्ट जनाउँदै उहाँ महिलाको जुलुस लिएर राणाहरुको दरबार पुगेकी थिइन् । यसरी महिला अधिकारका लागि राणाहरुको बिरोधमा उत्रिएकी मंगलादेवीको योगदानलाई २००७ सालको क्रान्तिको उपलब्धीका रुपमा पनि उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहेकी मंगलादेवीको २०५३ साल भदौ १० गते निधन भएको थियो ।

यसैबीच, नेपाल महिला संघ काठमाडौँ जिल्लाले मंगलादेवीको सालिक रहेको स्थान शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी मंगलादेवीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको छ । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी भएको बताए । नेता सिंहले संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ यो महिला आन्दोलनकै उपलब्धि भएको जनाएका छन् ।

सांसद राज्यलक्ष्मी श्रेष्ठले महिला संघ मंगलादेवी सिंहले देखाएको बाटोमा हिँड्नुपर्ने विचार व्यक्त गरिन् । महिला संघ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले महिलाले भोट हाल्न पाउनुपर्छ र पढ्न पाउनुपर्छ भनेर अधिकारका लागि आवाज उठाउने महिला नेत्री मंगलादेवी भएको उल्लेख गरिन् ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो ।