स्वास्थ्य

तराई–मधेसको डुबान क्षेत्रमा बिरामीको बेहाल !

काठमाडौं । राप्ती सोनारी गाउँपालिका ६ की कुकुरी थारुलाई हनहनी ज्वरो आएको दुई हप्ता बितिसक्यो । न औषधि छ न घरमा खानेकुरा नै । घरमा उनीमात्रै होइन, आठैजनाको परिवार सबै बिरामी परेका छन् । कसैलाई खोकीले सताएको छ, कसैलाई ज्वरो आएको छ । अनि कसैलाई चिलाउने रोग छ ।

केही दिनअघि राप्तीमा आएको बाढीले उनको घर बगायो । सरकारले राहत भन्दै सात दिनपछि ४० किलो चामल दिएको थियो । त्यो पनि सकियो । एउटा त्रिपाल टाँगेर उनीहरु अहिले त्यसैमा दिन काटिरहेका छन् ।

शनिबारको अन्नपूर्णमा लेखिएको छ, राप्ती सोनारी ७ ढलैयाकी रकजकुमारी चौधरीको पनि व्यथा उस्तै छ । उनलाई पनि ज्वरो आइरहेको छ । गाउँमा भएका स्वास्थ्य चौकीमा पर्याप्त औषधि छैन । समयमै उपचार पाउन उनीजस्ता बिरामीलाई उत्तिकै सास्ती छ ।