पु.समाचार

दशैँका लागि टिकट लिन आएका यात्रु रित्तो हात फर्कँदै

अच्युत रेग्मी/

यात्रु : पाँचवटा टिकट पाउँ न दाजु
काउण्टरवाला : कहिलेका लागि होला रु
यात्रु : दशैँका लागि ।
काउण्टरवाला : खुलेको छैन ।
यात्रु : कहिले खुल्ला रु
काउण्टरवाला : थाहा भएन ।
काठमाडौँ । यो सम्वाद हो काठमाडौँको नयाँबसपार्कस्थित दशैँमा घर जान टिकट लिन आएका धनगढीका भुवन विष्ट र सुदूरपश्चिम यातायात लेखिएको काउण्टर नं २३ मा बसेका सुजन कडालको ।

यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मझौला दूरीको अग्रिम टिकट बुकिङ खुला गरेपनि यातायात व्यवसायीले बाटोको समस्या र सामान लैजान छतको व्यवस्था नभएको भन्दै टिकट बुकिङ खुला रोकिदियो ।

यातायात व्यवस्था विभागमा यही भदौ १६ गते बसेको विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक, यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष एवम् महासचिव र उपभोक्तावादीको बैठकले भदौ २२ मा टिकट खुलाउने निर्णय गरेको थियो ।

उक्त सूचनालाई आधार मानेर दशैँमा घर जाने बस टिकट लिन आज बिहान हजारौँ यात्रु नयाँ बसपार्क आएपनि बिना टिकट रित्तो हात फर्कनुप¥यो । धनगढीका विष्ट नेपालटारको एक स्कूलमा पढाउनुहुन्छ । उहाँ आफ्नो परिवारसहित दशैँमा घर जानका लागि स्कुल विदा लिएर नयाँ बसपार्क टिकट काट्न आएको बताउनुहुन्छ ।

उहाँ जस्तै सप्तरीको फत्तेपुर जानका लागि टिकट लिन नयाँ बसपार्क आउनुभएका इन्द्रदेव वहरदार पनि टिकट नपाएपछि त्यत्तिकै फर्कनुप¥यो । नयाँ बसपार्कको पूर्व कोशी यातायात लेखिएका काउण्टर नं ६ मा टिकट माग्दै उभिनुभएका उहाँ टिकट नपाएपछि निराश देखिनुहुन्थ्यो । उहाँले टिकट कहिले खुल्छ भनेर काउण्टरमा बसेको व्यक्तिलाई सोध्दै हुनुहुन्थ्यो ।

यी त केवल प्रतिनिधि घटनामात्र हुन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच कुरा नमिल्दा हजारौँ यात्रुहरूले दशैँको मुखमा दुःख झेल्नुपरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई दशैँको मुखमा यातायात व्यवसायीले टिकट बुकिङ बन्द गर्नु राम्रो नभएको बताउनुहुन्छ । उहाँ यातायात व्यवसायीको मागलाई सम्बन्धित क्षेत्रमा पु¥याएर समाधान गर्नेतर्फ आफू लाग्ने भन्दै टिकट बुकिङ तत्काल खुलाउन आग्रह गर्नुहुन्छ ।

“व्यवसायीले भाडा समायोजनका बारेमा राखेका माग, बर्खायाममा यात्रा गर्दा बाटोमा पर्ने समस्याको समाधानका लागि चाहिने पूर्वाधार, सवारी जाँचपासलगायतका विषयमा विभाग गम्भीर छ”– महानिर्देशक भट्टराईले भन्नुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँमा सवारीसाधन सञ्चालन गर्नका लागि बाटो राम्रो नभएकाले अग्रिम टिकट बुकिङमा समस्या परेको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकले छत हटाउने प्रस्ताव पारित गरिसकेको भन्दै छत नभए यात्रुको सामान लैजान समस्या पर्ने भएकाले यो प्रस्ताव फिर्ता लिनुपर्ने माग समेत गर्नुभयो ।

अघिल्ला वर्षमा दशैँको घटस्थापना सुरु हुनुभन्दा १५ दिन अगावै टिकट खुलाउने व्यवस्था गरेपनि गत वर्ष एक हप्ताअघिमात्र टिकट खुलेको थियो । टिकट बुकिङ खुलेसँगै काठमाडौँका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष राख्ने महानगरीय ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो । उहाँले यात्रुको सहजताका लागि चाँडो टिकट बुकिङ खुला गनुपर्ने बताउनुभयो ।