राजनीति

के फेरि पनि कांग्रेसले पुष्पकमललाई साथ देला ? यसरी थुप्रैलाई बलिको बोको बनाउने अभियानमा छन् दाहाल !

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि चितवनमा आयोजित पत्रकार सम्मेलनमा आफु आगामी मंसिरमा हुने संघीय संसदको चुनावमा चितवनबाट लड्ने उद्घोष गरेका छन् । यसअघि रोल्पा, काठमाण्डौ र सिराहाबाट चुनाव लडिसकेका प्रचण्डले यो पटक भने चितवनबाट चुनाव लड्ने महत्वाकांक्षा देखाएका छन् ।

प्रचण्डले चितवनबाट चुनाव लड्ने महत्वाकांक्षा राख्नु स्वभाविक पनि हो, किनभने उनको गृहजिल्ला नै चितवन भएकोले चुनावका लागि उक्त जिल्लामा जोडिनुपर्छ तर प्रचण्डले यसअघि भएको स्थानीय तहको निर्वाचनमा छोरी रेणु दाहाललाई भरतपुर महानगरको प्रमुख बनाउँदा भएको राजनीतिक समीकरणकै सपना देखेका हुन् भने त्यसको सम्भावना निकै न्युन हुँदै गएको छ । भरतपुरमा रेणुलाई चुनाव जिताउन प्रचण्डले नेपाली कांग्रेससँग आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर तालमेल गरे ।

पहिलो चरणको निर्वाचनमा एमाले नेता देवी ज्ञवालीसँग चर्को प्रतिस्पर्धा गरिरहेकी रेणुले हार्ने संकेत भएपछि मतपत्र च्यातियो र दोश्रो चरणको निर्वाचनमा अनेक तिकडम गरेर प्रचण्डले छोरी रेणुलाई भरतपुरको मेयर बनाइछाडे, भरतपुरका कांग्रेस कार्यकर्ताले धर्म छाडेनन् ।

पार्टीले दिएको निर्देशन माने र रेणुलाई मत दिए । तर अबका दिनमा प्रचण्डले पनि सोही सपना देखेर प्रतिनिधिसभा निर्वाचन लड्न लागेका हुन भने उनले धक्का खाने निश्चितजस्तै देखिएको छ, किनभने तेश्रो चरणको निर्वाचनसम्म आईपुग्दा नेपाली कांग्रेससँग गरिने भनिएको चुनावी तालमेलको प्रक्रियानै करिब ध्वस्त भइसकेको छ ।

पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा भएको तालमेलकै विषमा कांग्रेसभित्र चर्को मतभेद देखिएपछि असोज २ गते हुने चुनावमा कांग्रेस–माओवादीले तालमेल गर्न सकेनन् । त्यसर्थ, आगामी मंसिरमा हुने चुनावमा पनि यी दुई पार्टीबीच तालमेल हुने सम्भावना अत्यन्तै न्युन देखिदै गएको छ ।

यहि बीचमा प्रचण्डले चितवनबाट चुनाव लड्ने उद्घोष गरेका छन्, त्यहाँका जनतालाई महत्वाकांक्षी सपनाहरु बाँडेका छन् । उनले चितवनलाई अन्तर्राष्ट्रिय सहरहरुसँग कनेक्सन गराएर मुलुककै नमुना सहर बनाउनेसम्मका सपना बाँडेका छन् तर भरतपुर महानगरको चुनावमा छोरी रेणु दाहाललाई जिताउन समेत त्यति धेरै धौ धौ परेको अवस्थामा के प्रचण्डले चितवनबाट चुनाव जित्न सक्लान त ?

सबैको जिज्ञासाको विषय भएको छ । २०७० सालको निर्वाचनमा सिराहाबाट चुनाव लड्दासमेत प्रचण्डले चुनाव हारेका भन्ने विवादास्पद कुराहरु बाहिर आएका थिए । त्यहाँ एमाले उम्मेद्वारलाई बलिको बोको बनाएर प्रचण्डलाई जिताइएको थियो । त्यसैले चितवनमा पनि अब प्रचण्डको दम्भ र घमण्डका अघि कतिले बलिको बोको हुनुपर्ने हो, त्यो कुरा आंकलनमात्र गर्न सकिन्छ ।

यसकारण चितवनमै धक्का लाग्न सक्छ प्रचण्डलाई

वास्तवमा चितवनमा माओवादी केन्द्रले एमाले वा कांग्रेस यी दुई दलहरुमध्ये एकसँग तालमेल नगरी जित्ने सम्भावना नै छैन । माओवादीको घट्दो लोकप्रियता र भरतपुर निर्वाचन प्रकरणले गर्दा झनै सकिएको राजनीतिक छविका कारण त्यहाँ माओवादीको लोकप्रियता बढ्ने होइन, घटिरहेको छ ।

चुनावी अंकगणितमा रेणुले जिते पनि संसारले त्यहाँ राजनीतिक फट्याई गरेरै चुनाव जितेको छर्लङ देखेका छन् । अब प्रचण्डले पनि त्यही शैलीमा चुनाव लड्ने तयारी गरेको हो भने त्यसले उनी र उनको नेतृत्वको पार्टी त सकिन्छ नै सिंगो मुलुकको समेत अन्तर्राष्ट्रिय छबिमा दाग लाग्ने जानकारहरु बताउँछन् ।

यद्यपि, प्रचण्ड राष्ट्रिय राजनीतिको केन्द्रीय नेतृत्व भएको नाताले तत्काल चुनावी तालमेल गरेर उनले आफ्नो पक्षमा माहोल बनाउने सम्भावना पनि उत्तिक्कै छ । अन्यथा, चितवनको चुनावी मैदान उनका लागि २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नम्बर १० र सिराहामा देखिएको हविगतझै नहोला भन्न सकिन्न ।