राजनीति

मंसीरको निर्बाचनपछि मुलुक समृद्धीतिर उन्मुख हुन्छ- मन्त्री बस्नेत

धुलिखेल । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकले प्राप्त गरेको संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्धतर्फ अगाडि बढाउनुपर्ने बताएका छन् ।

बनेपा ब्वाइज क्लबले आयोजना गरेको बनेपा महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिलेको संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएको उल्लेख गरे । पहिलो र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दल पनि भाग लिन थालेकामा उनले खुशी व्यक्त गरे ।

मन्त्री बस्नेतले भने, “सबै दल निर्वाचनमा सहभागी भइसकेकाले अब राजनीतिक एजेण्डाको रुपमा हामीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सिध्याएर मुलुकलाई समृद्धतिर लैजानु पर्नेछ ।” उनले सरकारमा राजनीतिक संक्रमणको कुरा गरेर देशलाई अल्मलाएर राख्ने कुनै पनि पार्टी, नेता नभएको समेत दाबी गरे ।

‘त्यसको लागि अब यो पार्टी, त्यो पार्टी भनेर बस्ने बेला छैन’ उनले भने । “मन्त्री बस्नेतले अब देशलाई अगाडि बढाउन चरणबद्ध निर्वाचनलाई सम्पन्न गर्दै मुलुक आर्थिक गतिमा अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

सोही कार्यक्रममा मन्त्री बस्नेतले काभ्रेपलाञ्चोक जिल्लालाई ३ नं प्रदेशको राजधानी बनाउने कुरा अगाडि बढिसकेको उल्लेख गर्दै त्यसको लागि काभ्रेका जनप्रतिनिधि र राजनीतिक दललगायत सबै मिलेर अगाडि बढ्नुपर्ने बताए। उनले त्यसको लागि आफ्नो तर्फबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैबीच मन्त्री बस्नेतले यातायात व्यवसायीले उठाउँदै आएको गाडीमा सामान राख्न छतको व्यवस्था गर्न गरिएको आग्रहलाई सरकारले स्वीकार गरेको बताएका छन् ।

चाडपर्वको बेला भएकाले र यातायात व्यवसायीहरुले पनि यात्रुको सामान राख्न पाउने व्यवस्थाको लागि गाडीको छत राख्न पाउनुपर्ने कुरा उठाएका कारण सरकारले त्यसलाई सम्बोधन गरेको बताए ।

कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम लामाले बनेपाको पहिचानलाई संरक्षण गर्नको लागि युवा व्यवसायीले भूमिका खेल्नुपर्ने बताए । “काभ्रेपलाञ्चोक जिल्ला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि सभ्यता बोकेको जिल्ला भएकाले यसको विकासको लागि अघि बढ्न जरुरी छ” उनले भने ।

बनेपा ब्वाइज क्लबले आयोजना गरेको कार्यक्रममा बनेपा बसपार्कबाट ¥याली तथा झाँकी प्रदर्शन गर्दै बनेपा बजार परिक्रमा गरेर कार्यक्रम स्थल उग्रेश्वर महादेव मन्दिर परिसरमा समापन गरिएको थियो ।

नेपालीको महान पर्व दशैँलाई लच्छित गरेर आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यावसायिक प्रवद्र्धनको लागि १४२ वटा स्टल राखिएको छ । महोत्सव भदौ २८ गतेदेखि असोज १० गतेसम्म चल्नेछ ।