कृषि

सुनसरीमा गरिएको केराखेतीमा यसरी भयो ठूलो क्षति

इनरुवा । सुनसरीमा केही दिन अगाडि आएको बाढीका कारण यहाँको केराखेतीमा ठूलो क्षति भएको छ ।

बाढीका कारण जिल्लाको अधिकांश स्थानका केराखेती बगाएको र बचेका पनि सुक्न थालेका छन् । केरामा क्षति भएपछि स्थानीय किसान निराश बनेका छन् । बाढीका कारण सदरमुकाम इनरुवा, भोक्राहा, जल्पापुर, बबिया, देवागञ्ज, हरिनगर, गढी र बर्जूलगायतका क्षेत्रमा केराखेतीमा क्षति भएको किसानले बताएका छन् ।

बाढीबाट केरामा क्षति भएपछि लगानीसमेत डुब्ने भएकाले जिल्लाका सयौँं किसान चिन्तित भएका छन् । सुनसरीमा झण्डै ७०० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएकोमा झण्डै १०० हेक्टर क्षेत्रफलको केराखेती बाढीले कटान गरी लगेको र बाँकी रहेका पनि सुक्न थालेपछि किसान चिन्तित बनेको स्थानीय किसान गणेश यादवले बताए ।

यादवका अनुसार ‘बाढी कम भएसँगै धेरै स्थानमा केरा सुकेको छ’ । जिल्लाका केही ठाउँमा केरा पूर्णरुपमा सुकेको छ भने केही ठाउँमा सुक्ने क्रम जारिरहेको अर्का किसान बलराम मेहताले गुनासो गरे ।

यहाँ पानी जम्ने क्षेत्रमा सबैभन्दा बढी क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । जिल्लाका किसानले एक दशकयता थालेको केराखेती एकपछि अर्को समस्याका कारण घट्दो क्रममा रहेको केरा कृषक सञ्जीव मेहताले गुनासो पोखे ।

केरामा कुनै बेला बजारको अभाव, कहिले मौसमले साथ नदिएका कारण समस्या रहेको गुनासो गर्नुहुंदै मेहताले यसपालि पुंजी नै चौपट हुनेगरी बाढीमा केरा बगाएको र बचेका केरा सुक्न थालेपछि किसानको करोडौँको क्षति भएको बताए ।

उनले किसानलेप्रति हेक्टर ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म लगानी गरेर दुई लाखदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकोमा यसपटकको बाढीले सबैलाई घाटा भएको बताए ।

अर्का किसान देवराम यादवका अनुसार जिल्लामा केरा किसानलाई मात्रै १० करोड बढीको नोक्सानी भएको छ । जिल्लामा ब्लियम हाइब्रिड, रोबोष्टा, सिंगापुरी, हरिछाललगायतका उन्नत जातका केरा हुँदै आएको र उत्पादकत्व सात हजार ६०० मेट्रिक टन हुंदै आएको कृषि कार्यालयले जनाएको छ ।

बाढी आउनुभन्दा अघिसम्म यहाँ उत्पादित केरा काठमाडौं, पोखरा र पूर्वमा इलामसम्म पुग्ने गरेकोमा अहिले जिल्लाको आपूर्ति धान्नसमेत समस्या भएको किसानको गुनासो छ । यता जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले क्षति भएको केराखेतीको विषयमा तथ्यांक संकलन गरेर कृषि विभाग र मन्त्रालय पठाएको बताउँदै क्षतिपूर्तिका लागि पहल गर्ने बताए ।

उनले मन्त्रालयबाट क्षतिपूर्ति आएपछि आफूहरुले तुरुन्त कृषकलाई उपलब्ध गराउने समेत बताए ।