आर्थिक

बाढीपहिरोले आर्थिक वृद्धिदर प्रभावित हुनसक्छ – विश्व बैंक

काठमाडौँ । गत साउनको अन्तिम साता तराई र मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण आर्थिक वृद्धिदर खस्कने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

बैंकले आज यहाँ सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा तराईमा बाढी र डुबानले गर्दा यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भएको छ । चालु आवमा वृद्धि खुम्चिएर ४।६ प्रतिशत हुने अनुमान बैंकले गरेको हो ।

बैंकको अनुमानअनुसार सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने देखिएको हो । चालु आर्थिक वर्षका लागि सरकारले ७।२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

संघीय संरचनामा बजेट कार्यान्वयन चुनौतिपूर्ण देखिएको भन्दै बैंकले केन्द्रबाट स्थानीय तहमा पठाइएको बजेट व्यवस्थापनका लागि आवश्यक कानूनी र नीतिगत व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।

तराईमा बाढी र डुबानले कृषिमा ठूलो क्षति गरेको, उपभोगमा कमी र वैदेशिक रोजागारमा जानेको संख्यामा आएको कमीले विप्रेषण आप्रवाह वृद्धि दर घट्दै गएका कारण आर्थिक वृद्धि कम हुने विश्व बैंकका अर्थशास्त्री सुधुम्न दाहालले बताए ।

उहाँले बाढी र त्यसपछिको डुबानले ६४ हजार हेक्टर क्षेत्रफलमा धानबालीमा क्षति पुगेको रु एक खर्ब बढी नोक्सान भएको प्रारम्भिक अनुमान गरेको छ ।

तीन तहको निर्वाचनपछि मुलुक संघीयता कार्यन्वयन शुरु भएपछि वित्तीय असन्तुलन बढ्ने अनुमान गरिएको छ । यो वर्ष असन्तुलन बढेर ४.३ प्रतिशत पुग्ने दाहालको भनाइ छ ।