अन्तर्राष्ट्रिय

अमेरिकी हवाई हमलामा ४५ जनाको मृत्यु

एजेन्सी । इस्लामिक स्टेट्स (आईएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन् ।

अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस हवाई कारबाहीमा परी मारिनेमा सबै आम नागरिक रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन् । आतंकवादविरुद्धको अमेरिकी नेतृत्वको गठबन्धन सेनाले आतंकवादीहरू बस्ने गरेको भवनहरूमा आक्रमण गरेको थियो ।

पछिल्लो समयमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले शृङ्खलाबद्ध आक्रमण बढाउँदै लगेको छ । हवाई आक्रमण बढ्दै गर्दा दैनिक रूपमा मृत्यु हुने नागरिकको संख्यामा पनि वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।

सिरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघलाई पत्राचार गर्दै अमेरिकी नेतृत्वको गठबन्धन सेनाबाट भएको ‘अपराध’ रोक्न विश्व समुदायलाई आह्वान गरेको छ ।