अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिनको जन्मदिनमा विरोध प्रदर्शन

एजेन्सी । रुसभरका ८० शहरमा भएका विरोध प्रदर्शनक्रममा विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थकहरु गिरफ्तार भएका छन्। नभाल्नीलाई सन २०१८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने प्रदर्शनकारीको माग छ।

मुख्य विरोध केन्द्र सेन्ट पीटर्सबर्गमा झडपहरु भएका र दर्जनौं गिरफ्तार भएको बताइएको छ। र्याली राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका दिन भएको छ।

मस्को र सेन्ट पीटर्सबर्ग लगायत धेरै ठाउँका र्यालीहरु अनुमति नलिइकन भएका छन्। विपक्षी नेता नभाल्नी भने सार्वजनिक बैठकहरु आयोजना गर्दा मान्नुपर्ने नियम पटक पटक उल्लंघन गरेको आरोपमा बीस दिने जेल सजाय काटिरहेका छन्।

रुसका निर्वाचन अधिकारीहरुले नभाल्नीको अर्को निलम्बित जेल सजायका कारण उनी मार्च महिनामा हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताउँछन्। पछिल्ला महिनाहरुमा नभाल्नीले रुसभर यात्रा गरेर चुनावी अभियान चलाउँदै आएका छन्।