खेलकुद

जर्मनीको शानदार जित

एजेन्सी ।  विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन क्षेत्रबाट छनौट भइसकेको जर्मनीले छनौट चरणको आफ्नो अन्तिम खेलमा शानदार जित दर्ता गरेको छ ।

समूह ‘सी’ अन्तर्गत भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको साबिक विजेता  जर्मनले अजरबैजानलाई ५–१ ले हराएको छ ।  जर्मनीका लागि लियोन गोरेट्ज्गाले ६ र ६६ औं मिनेटमा गरी दुई गोल गरे ।

५४  औं मिनेटमा सान्ड्रो वाग्नर, ६४ औं मिनेटमा एन्टोनियो रुडेजर तथा ८१ औं मिनेटमा एम्र क्यानले गोल गरे । अजरबैजानका लागि ३४ औं मिनेटमा रामिल शेदभले एक गोल फर्काए । जर्मनीले समूह चरणका सबै १० खेल जितेको छ ।

यसक्रममा उसले कीर्तिमानी ४३ गोल गरेको छ । यसअघि युरोपियन क्षेत्रको छनौट चरणका सबै १० खेल स्पनेले जितेको थियो । उसले सन्

२०१० को विश्वकप छनौटका सबै १० खेल जितेको थियो । यहि समूहको खेलमा नर्दन आयरल्याण्ड भने नर्वेसँग १–० ले  पराजित भयो ।

यस्तै चेक गणतन्त्रले सान मारिनोलाई ५–० ले हरायो । पराजित भएर पनि दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डले विश्वकप छनौटका लागि प्ले–अफ खेल्ने भएको छ ।