तस्विरहरु

यसरी रमाइरहेको थियो गौचनको परिवार, तर केही समयमै खुसी हरण भयो (फोटोफिचर) !

काठमाण्डौ । सोमबार अपरान्ह नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो । उक्त हत्या अपराधिक गिरोह मनोज पुन समुहले गरेको भन्ने खबर बाहिर आइरहेका छन् । जसले हत्या गरेपनि उनको हत्यामा संलग्नहरुलाई कडा कार्वाही गरिनुपर्ने माग गम्भीर रुपमा उठिरहेको छ । यसले निर्माण व्यावसायको क्षेत्रमा थप त्रास समेत थपिदिएको छ ।

वास्तवमा शरदकुमार गौचन निकै सरल र मिजासिलो व्यक्तिको रुपमा परिचित थिए भन्ने कुरा उनका सहकर्मीहरुको भनाईबाट पुष्टि हुन्छ । गौचनको हत्या आर्थिक लेनदेन नमिलेर गरिएको आशंका गरिएपनि त्यसको पुष्टि हुन सकेको छैन । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको जनाएको छ ।

घटनाका बारेमा विविध कुराहरु बाहिर आइरहेका छन् । घटनाको परिदृष्य हेर्दा गौचनमाथि यसअघि देखिनै आर्थिक लेनेदेनमा कुरा नमिलेको हो कि भन्ने बुझिन्छ । तर पछिल्ला दिनका गौचनका क्रियाकलापहरु देख्दा उनमा कुनै त्यस्तो बाहिरी तनाव नभएको समेत बुझिन्छ । पारिवारिक श्रोतका अनुसार उनले यो पटकको दशैं निकै हर्षोल्लासपूर्वक मनाएका थिए ।

बाहिरबाट आउने अनावश्यक फोनहरुको टर्चर उनमा केही देखिदैनथ्यो । यद्यपि, उनमा केही वर्षअघि देखि सुरक्षा थ्रेट भने रहेका कुराहरु बाहिर आइरहेको छन् । उनी र उनका परिवारले आफ्ना फेसबुक अकाउन्टहरुमा राखेका दशैंका तस्वीरहरु हेर्दा अध्यक्ष गौचनमा कुनै तनाव देखिदैन । कुनै सुरक्षा थ्रेटको महसुस गरेका भए उनले आफ्नो सुरक्षामा निकै चनाखो हुनुपर्ने अनुमान गर्न सकिन्छ । आफ्नो परिवारसँग बसेर दशैं मनाएका यी तस्वीर हेर्दा लाग्छ, गौचनको परिवारमा यी खुसीका दिन एकहप्ता पनि टिकेनन्, जसलाई अपराधीहरुले चुँडेर लगिदिए ।