पु.समाचार

बिहीबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदै, प्रचार–प्रसार नगर्न आयोगको आग्रह

काठमाण्डौ । मंसिर १० गते हुने प्रदेश र संघीय संसदको चुनावको बिहीबार अन्तिम प्रचार–प्रसार हुँदैछ । बिहीबार राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुँदैछ । १० गते निर्वाचन हुने ३२ जिल्लाहरुमा बिहीबार बेलुका सम्म राजनीतिक दलका उम्मेद्वारहरु र नेता–कार्यतकर्ताहरुले प्रचार–प्रसार गर्न पाउनेछन् ।

निर्वाचन ऐन अनुसार मतदान गर्नु ४८ घण्टा अघि मौन अवधि सुरु हुने गर्दछ । ऐनअनुसार मौन अवधि सुरु भएपछि दलका कार्यकर्ताहरुले प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको मौन अवधि सुरु भएपछि आम सञ्चारमाध्यामहरुमा समेत राजनीतिक दल र तिनका उम्मेद्वाहरुका लागि मत माग्ने प्रचारका कामहरु गर्न नपाइने नियम छ । आयोगले सञ्चारमाध्यामहरुलाई समेत यसो नगर्न आग्रह गरेको छ ।

उता, मंसिर २१ गते हुने निर्वाचनका लागि भने प्रचार–प्रसार गर्न छुट छ । मंसिर २१ गते मुलुकका ४५ जिल्लामा निर्वाचन हुँदैछ ।