राजनीति

यसकारण अब कांग्रेसकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन्, खुल्यो बाटो !

काठमाडौं । भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अधिकांश स्थान वाम गठबन्धनले जिते पनि समानूपातिक मतपरिणामको आधारमा सांसदहरुको संख्या बढ्दा नेपाली कांग्रेस पनि शक्तिशाली दलको रुपमा देखिएको छ । अब नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले एकअर्कालाई कटाएर जान नसक्ने स्थिति देखिएको हो । वाम गठबन्धनमा जोडिएका दलहरु एमाले–माओवादी केन्द्र र लोकतान्त्रिक गठबन्धनमा जोडिएका दलहरु नेपाली कांग्रेस, मधेसवादी दलहरु र अन्य केही साना दलको मतलाई आधार मान्ने हो र सरकार निर्माणको अंक गणितमा जाने हो भने जुन पार्टीको नेतृत्वमा पनि सरकार बन्न सक्ने स्थिति देखिएको छ ।

यसको अर्थ वाम गठबन्धनमा जोडिएका एमाले र माओवादी जतिबेर पनि फुट्न सक्ने स्थिति देखिन्छ । पछिल्ला दिन एमालेका केही नेता–कार्यकर्ताहरुले आफ्नो पार्टीको सहयोगमा माओवादी केन्द्रका उम्मेद्वारहरुले धेरै ठाउँमा जित हासिल गरेको टिप्पणी गर्न थालेका छन् भने माओवादी केन्द्रका कार्यकर्ताहरुले पनि आफ्नो पार्टी नेतृत्वको इमान्दारिता र कार्यकर्ताहरुको सहयोगले एमालेले धेरै सिट हासिल गरेको आरोप–प्रत्यारोप छदम् रुपमा पार्टीभित्र र बाहिर चल्न सुरु भएको छ ।

त्यस्तै, केही दिनअघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिन नसकिने आसयसहितको टिप्पणी गरे पछि त यसले गरम बहस सुरु गरिदिएको छ, जसले सरकार निर्माणको अंकगणितसम्म पुग्दा गठबन्धननै धरापमा पर्ने हो कि भन्ने आशंकाहरु पो सुरु हुन थालेका छन् । त्यसपछि बाम गठबन्धन एकतातर्फ होइन फुटतर्फ जाने संकेत समेत मिल्न थालेको विश्लेषकहरु बताउन थालेका छन् ।

ती दुई पार्टीभित्रका आरोप–प्रत्यारोप सरकार निर्माणको अंकगणितीय खेलमा गए टुंगिन सक्ने खतरा किन पनि देखिदैछ भने समानूपातिक मतले नेपाली कांग्रेसलाई यो देशका तीन शक्तिशाली दलहरुमध्ये एक बनाइदिएको छ र सरकार निर्माण उसलाई कटाएर जान अब कदापि सकिने अवस्था छैन । त्यो बीचमा कांग्रेसले मधेसवादी दलहरुको साथ लिएर राजनीतिक शक्ति सन्तुलनलाई तलमाथि पारिदिन सक्ने अवस्थाको सिर्जना भएको छ ।

वास्तवमा एमालेले माओवादी केन्द्रको नेतृत्वलाई यसरी नै गाँज्दै लग्यो भने नेपाली कांग्रेस र मधेसवादी दलहरुसँग मिलेर माओवादीले सरकार बनाउन सकिने सम्भावना प्रष्ट रुपमा देखिएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, मधेसवादी दलहरुको पछिल्लो समानूपातिक मतपरिणाम हेर्दा एमालेलाई टक्कर दिने सिट संख्या देखिएको छ । समानूपातिकमा नेकपा एमाले र नेपाली कांग्रेस बराबर जस्तै हैसियतमा देखिएका छन् । त्यस्तै मधेसवादी दलहरुको पनि समानूपातिकमा राम्रो मतपरिणाम आएको देखिन्छ ।

प्रत्यक्ष र समानूपातिकतर्फको माओवादी, कांग्रेस र मधेसवादी दलहरुको सिट संख्या जोड्दा यी पार्टीहरुको नेतृत्वमा सरकार बन्न सक्ने ढोका खुलेको छ । त्यसैले एमाले मुलुकको निर्णायक शक्ति हुने अवस्था अब टरेको छ । माओवादी, कांग्रेस र मधेसवादी दलहरु मिलेमा एमालेनै प्रतिपक्षमा पुग्न सक्ने राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।

कांग्रेसको दाबी सही साबित हुँदै !
मुलुकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरु हुनु एकमहिना अघिनै नेपाली कांग्रेसका केही नेताहरुले एउटा भविष्यवाणी गरेका थिए । ती नेताहरुले निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसको प्रस्तावमा प्रधानमन्त्री बनाउने । कांग्रेस नेता डा.नारायण खड्का लगायतले गरेको यो दाबी सही सावित हुने संकेत देखिएको छ । कांग्रेसले अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सार्यो भने त्यो आश्चर्यको विषय नहुन सक्छ । कांग्रेसकै प्रस्तावमा दाहाल प्रधानमन्त्री बन्न सक्छन् । माथि उल्लेख गरिएको राजनीतिक शक्ति समीकरणले पनि दाहाललाई कांग्रेसले प्रस्ताव गरेर प्रधानमन्त्री बनाउन सक्ने बाटो खुलेको हो । जसले वाम गठबन्धनलाई पनि धरापमा पारिदिन सक्छ । कांग्रेसले यदि यो कदम चालेमा मुलुकमा दशकौं राज गर्ने वामहरुको सपना चकनाचुर हुन सक्ने विश्लेषकहरु बताउन थालेका छन् ।