मनोरञ्जन

पुस ६ देखि पर्वतीय चलचित्र महोत्सव सुरु हुँदै

पोखरा– पोखरा फिल्म सोसाइटीको आयोजनामा यही पुस ६ देखि ८ गतेसम्म पोखरा सभागृहमा तेस्रो अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुँदैछ ।

महोत्सवमा स्वेदशी २३ र विदेशी २० गरी कुल ४३ चलचित्र प्रदर्शन गरिने छ । हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको सम्बद्र्धन तथा प्रबद्र्धन जनचेतना अभिवृद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

पर्वतीय क्षेत्र आसपासमा बसोबास गर्ने मानिसको अधिकार सुनिश्चितताका लागि वकालत गर्नाका लागि महोत्सव गर्न लागिएको यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक सरोज सापकोटाले जानकारी दिए ।

नेपाली चलचित्र ‘तुइन’को पहिलो प्रदर्शनबाट शुभारम्भ गरिने सो महोत्सवमा सुदूरपश्चिमको कथा र व्यथालाई समेटेर तयार पारिएको ‘जालगेडी’, सञ्चारकर्मी संजोग बस्यालद्वारा निर्मित ‘कृष्ण’, ‘डडेलोको सतीसाल’, ‘नेपाली चलचित्रमा जनजातिको चित्रण’लगायत चलचित्र प्रदर्शन गरिने सोसाइटीका महासचिव विष्णु गौतमले जानकारी दिए ।