मनोरञ्जन

विवादले कंगनाको कमाइ घट्यो, अब यस्तो छ प्लान

काठमाण्डौं । बोल्ड बलिउड अभिनेत्री कंगना रनावतले यस वर्ष हिन्दी फिल्म उद्योगका हस्ती विरूद्ध धावा बोलिन । एकातीर खुलेरै विवादमा उत्रेकी कंगनाका दुई फिल्म वक्स अफिसमा असफल पनि भए । यसले करियरमा नकारात्मक असर गरेको खुलासा उनले गरेकी छन् ।

भारतीय पत्रिका ‘मुम्बई मिरर’लाई दिएको अन्तरवार्तामा विवाद र बयानले आफ्नो व्यवसायिक जीवनमा असर परेको बताएकी हुन् । केतन मेहता निर्देशित ‘सिमरन’ र विशाल भारद्वाज निर्देशित ‘रंगुन’ फ्लप भए । समिक्षकको नजरमा पनि फिल्म गतिलो बन्न सकेन ।

‘अफरहरू आउन कम नभए पनि मेरो व्यवसायिक पाटो भने खस्किएको छ । विज्ञापनका प्रस्तावहरू कम भएका छन्, मेरो कमाइ तल झरेको छ । यसले गर्दा मेरो आफ्नै प्रोडक्सन कम्पनी खोल्ने योजना पर धकेल्नुपरेको छ’, अन्तरवार्तामा उनले भनेकी छिन् ।

यस वर्षको सुरूवातदेखि नै कंगना मिडिया अन्तरवार्ताहरू आगो बनेर आइन् । बलिउडमा रहेको परिवारवाद र आफू माथि भएका दुरव्यवहारका बारेमा खुलस्त भइन् । ऋतिक रोशन तथा करण जोहर उनको निशानाका पात्र बने । ऋतिकसँगको आफ्नो व्यक्तिगत सम्बन्धले समाचारका हेडलाइन बनेकी कंगना करणसँग परिवारवादको विषयमा भिडिन् ।

कंगनाले यी कुराले आफूमाथी असर परे पनि निराश भइहाल्नुपर्ने अवस्था नभएको पनि सो अन्तरवार्तामा बताएकी छन् । ३ फिल्म साइन गरिसकेको बताउँदै उनले यस्तो भनेकी छन्, ‘ म मेरो जीवन युवतीहरूका लागि होशियार हुनुपर्ने उदाहरण नभइ एउटा प्रेरणा दिने होस भन्ने चाहन्छु । म यसबाट उम्कदैं सफल हुनेछु ।’