राजनीति

सरकार निर्माण गर्न काँग्रेसका वरिष्ठ नेताले दिए एमालेलाई यस्तो उपाय

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दबाब दिएर राष्ट्रियसभा गठन गर्न रोक लगाउनुभन्दा पद्दति र प्रक्रियाबाट सरकार बनाउनुपर्ने सुझाव दिएका छन् ।

तनहुँमा भएको एक कार्यक्रममा बोल्दै नेता पौडेलले एमालेले प्रक्रिया र पद्दतिलाई स्वीकार गर्ने भन्दा पनि राष्ट्रपतिलाई अनावश्यक दबाब दिएर मुलुक चलाउन खोजेको आरोप लगाए ।

उनले एमालेले मुलुकमा पद्दतिको विकास गर्नेभन्दा सधैँ पद्दतिलाई भत्काउन लागेको टिप्पणी गरे । उनले भने, ‘लोकतन्त्रमा पद्दति र प्रक्रियाबाट मुलुक चलाउनुपर्छ । पद्दति र प्रक्रियाबाट मुलुक सञ्चालन भएन भने लोकतान्त्रिक सिस्टम पनि भत्कन्छ ।’ वरिष्ठ नेता पौडेलले राष्ट्रियसभा भनेको प्रतिनिधिसभाभन्दा बढी जिम्मेवार संस्था भएको उल्लेख गर्दै राष्ट्रियसभालाई नियन्त्रण र सन्तुलनको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभालाई नियन्त्रण र सन्तुलनको केन्द्र बनाउनका लागि एकल संक्रमणीय मतका आधारमा राष्ट्रियसभाको निर्वाचन भए मात्र सम्भव हुने पौडेलको धारणा थियो ।

उनले भने, ‘राष्ट्रियसभा भनेको प्रतिनिधिसभाबाट भएको त्रुटिहरुलाई पनि सच्याउन सक्ने र प्रतिनिधिसभाको असन्तुलनलाई सन्तुलन कायम गर्न सक्ने संस्था बनाउनुपर्छ । बहुमतीय आधारमा निर्वाचन गरेर त्यो सन्तुलन र नियन्त्रण गर्ने संस्था बन्न सक्दैन् ।’

नेता पौडेलले संसदीय लोकतन्त्र नभएको धेरै मुलुकमा अधिनायकवादको जन्म भएको तर्क गरे । उनले दरवारियार कम्युनिस्टहरुबाट सधैँ लोकतन्त्रप्रति घात भएकाले आमनेपालीले सचेत हुनुपर्ने बताए ।