राजनीति

कांग्रेस महिला केन्द्रीय सदस्यले राष्ट्रपति समक्ष राखे यस्तो माग

काठमाण्डौ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको ऐतिहासिक निर्वाचन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न भएको छ । अब अर्को गहन दायित्व भनेको राष्ट्रिय सभाको निर्वाचन गर्नु हो । त्यसको लागि राष्ट्रपति समक्ष पेश भएको अध्यादेश तुरुन्त प्रमाणीकरण हुन जरुरी रहेको कांग्रेसका महिला नेतृहरुले बताएका छन् ।

नेपालको संविधानको धारा ८३ मा ‘प्रतिनिधिसभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ’ भन्ने संवैधानिक व्यवस्था छ । उनीहरुले राष्ट्रिय सभाको निर्वाचन विना अर्को सरकार बन्न पनि नसक्ने र निर्वाचन पक्रिया पूर्ण नहुने बताएका छन् ।

‘धारा ८४(८) मा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनु पर्ने वाध्यकारी संवैधानिक व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा निर्वाचित महिला सदस्य संख्या एक तिहाई नरहेमा समानुपातिकको बन्दसूचीमा समावेश नामबाट व्यवस्थापिका संसदमा एक तिहाई महिला निर्वाचित गर्नु पर्नेछ । राष्ट्रिय सभामा निर्वाचित भएर आउने महिलाको संख्या एक तिहाई नभएमा, दलहरुले प्रतिनिधिसभाका लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्दसूचीमा समाविष्ट महिला उम्मेदवारको नाम समावेश गरी संघीय संसदमा कम्तिमा एक तिहाई सदस्य महिला निर्वाचित गर्नै पर्ने हुन्छ । यसरी राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिक तर्फबाट व्यवस्थापिका संसदका महिला सदस्य निर्वाचित गर्न र संख्या निर्धारण गर्न सम्भव छैन’, नेतृहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसैले यस्तो संवैधानिक प्रावधानलाई ध्यानमा राखी राष्ट्रिय सभा निर्वाचन सम्वन्धि अध्यादेश करिव दुई महिना अगाडि देखि नै राष्ट्रपति समक्ष पेश भइसकेको परिवेशमा राष्ट्रिय सभाको निर्वाचनको लागि सम्माननीय राष्ट्रपतिबाट अध्यादेश तुरुन्त जारी गरी वैधानिक मार्ग प्रशस्त गर्नु पर्छ । समानुपातिक निर्वाचन परिणाम अन्तिम अवस्थामा आइपुग्दा समेत अध्यादेश जारी नभएका कारणले अर्को संवैधानिक जटिलता देखा परेको छ । त्यसैले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नहुदासम्म संघीय संसदले पूर्णता नपाउने, व्यवस्थापिका संसदले पनि पूर्णता पाउन नसक्ने, महिलाको एक तिहाइ प्रतिनिधित्वको सुनिश्चितता नहुने र नयाँ सरकार गठन प्रक्रिया समेत अवरुद्ध हुन जाने भएकाले उक्त अध्यादेश तत्काल जारी गरी राष्ट्रिय सभाको निर्वाचनका लागि सहज राजनीतिक निकासको मार्ग प्रदान गर्न सम्माननीय राष्ट्रपति समक्ष हामी जोडदार माग गर्दछौं ।’

काँग्रेस निकट महिला संघका निवर्तमान केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, दिव्यश्वरी शाह, ओमकला गौतम, ललितकला गुरुङ्ग, निर्मला क्षेत्री, नानु वास्तोला शिवाकोटी, महिन्द्रा लिम्वु, मधु शाही ठकुरी, रंगमती, उषा भण्डारी, प्रसिस महरा, कमला राईलगायतले उक्त अध्यादेश तत्काल पारित गर्न जोडदार माग गरेका छन् ।