राजनीति

एकीकरणपछि ओली र दाहाल पार्टी अध्यक्ष बन्ने, बालकोटमा भयो यस्तो सहमति !

काठमाण्डौ । पार्टी एकीकरणपछि नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओली नै पार्टी अध्यक्ष बन्ने भद्र सहमति भएको छ ।

आइतबार साँझ ओली निवास बालकोटमा भएको दुई अध्यक्षको ‘वन टु वन’ भेटमा यस्तो सहमति भएको हो ।  पार्टी अध्यक्ष र प्रधानमन्त्री एमाले अध्यक्ष ओली नै बन्ने एमाले नेताहरको भनाईबाट माओवादी केन्द्रभित्र खुबै चर्चा चुलिएको थियो ।

एमालेको एकलौटी घोषणाबाट माअ‍ोवादीले चतुर्याइँ टिपीसकेको थियो । गृहजिल्ला चितवन पुगेका दाहाल काठमाण्डौ आउन ढिला गरेपछि एकीकरण पनि अन्यौलमा परेको थियो । उनी हिजो चितवनबाट आएलगत्तै ओली भेट्न बालकोट पुगेका थिए ।

आइतबार भएको उक्त भेटपछि एकता संयोजन समितिको बैठक मंगलबारका लागि बोलाइएको छ । एकता संयोजन समितिको बैठकपछि दुवै पार्टीको ‘हाइकमाण्ड’ बैठक बस्ने भएको छ ।

एकताको महाधिवेशनसम्म दुवै जना(केपी ओली र पुष्पकमल दाहाल) पार्टी अध्यक्ष हुने गरि एकीकरण हुन लागेको स्रोतको दाबी छ । स्रोतका अनुसार ओलीले पार्टी अध्यक्षसहित सरकारको सम्पूर्ण नेतृत्व सम्होल्नेछन् । भने दाहालले पनि पार्टी अध्यक्षसहित पार्टीको सम्पूर्ण जिम्मेवारी लिने भद्र सहमति गरेको बालकोटनिकट स्रोतले बतायो ।

प्रधानमन्त्री र अध्यक्ष जस्ता दुबै कार्यकारी अधिकारयुक्त जिम्मेवारी ओलीलाई दिइँदा माओवादी केन्द्रका नेता–कार्यकर्ताले एकता सम्मानजनक भएको महसुस नगर्ने र ओलीलाई प्रधानमन्त्री बनाइए पनि पार्टीमा चाहिँ दाहालको मातहत रहने कुरालाई ओली समर्थकहरुले नरुचाएपछि ओली र प्रचण्डले यो विकल्प रोजेको स्रोतको दाबी छ।

एकिकृत पार्टीको अध्यक्ष को बन्ने भन्ने विषय निकै गम्भीर बन्दै गएपछि एमाले–माओवादी केन्द्रको एउटा पंक्तिले एकता महाधिवेशन अघि दुबैजना सहअध्यक्ष रहने गरी एकता गर्ने विकल्प अघि सारेको थियो । तर, यो विकल्पलाई ओली र दाहाल दुबैले रुचाएनन् ।

प्रधानमन्त्री र लामो समय अध्यक्ष भइसकेका दुई प्रमुख प्रभावशाली नेताहरु घटुवा हुन नचाहनु । किनभने, ओली अध्यक्ष भएको तीन बर्षमात्र भएपनि उनी सर्वशक्तिशाली स्थानमा छन् । उता, १३ वर्ष महामन्त्री र १६ वर्ष अध्यक्षको कार्यकाल बिताएका दाहाल पनि पार्टी र राष्ट्रिय राजनीतिमा उत्तिकै प्रभाव राख्छन् ।